भरतपुर महानगरपालिका–८ मा रहेको ज्येष्ठ नागरिक संघको दोस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रमले ज्येष्ठ नागरिकहरूको हक, हित, सम्मान र सामाजिक सक्रियतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
संघका अध्यक्ष चन्द्रकान्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर ८ का वडाध्यक्ष जीवनाथ कंडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले समाज निर्माणमा ज्येष्ठ नागरिकहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरूको अनुभव र ज्ञानलाई नयाँ पुस्ताले आत्मसात् गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा संघ स्थापनाको पृष्ठभूमिबारे जानकारी दिँदै भरतपुर–८ मा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना भई लामो समयदेखि सक्रिय रूपमा सञ्चालन हुँदै आएको जनाइएको थियो । वडा नं. ८ भित्र रहेका २२ वटा टोल विकास संस्थाका अध्यक्षहरूको सक्रियतामा २०८१ भदौ ३१ गते लक्ष्मी नारायण मन्दिर परिसरमा ज्येष्ठ नागरिकहरूको पहिलो भेला सम्पन्न भई तदर्थ समिति गठन गरिएको जानकारी दिइयो ।
संघले ज्येष्ठ नागरिकहरूको आत्मसम्मान, सामाजिक सुरक्षा र भावनात्मक सहारालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताइएको छ । कार्यक्रममा मानव जीवनको महत्व, जीवनका चार आश्रम तथा ज्येष्ठ अवस्थाको गरिमामाथि पनि चर्चा गरिएको थियो । वक्ताहरूले ज्येष्ठ नागरिकहरूलाई समाजको अभिभावकका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा ज्येष्ठ नागरिक संघ किन आवश्यक छ भन्ने विषयमा पनि धारणा राखिएको थियो । उमेरसँगै मानिसहरूमा एक्लोपन, असुरक्षा र सामाजिक दूरी बढ्न सक्ने भएकाले संघले उनीहरूलाई भावनात्मक सहारा, आपसी सद्भाव र आत्मीयता प्रदान गर्ने उद्देश्य राखेको जनाइएको थियो । संघमार्फत ज्येष्ठ नागरिकहरूबीच भेटघाट, विचार आदानप्रदान र सामाजिक सहभागिता बढ्दै गएको सहभागीहरूको भनाइ थियो ।
तदर्थ समितिले आफ्नो कार्यादेशअनुसार वडा तहमा संघको औपचारिक संरचना निर्माण, सदस्यता विस्तार, बैंक खाता सञ्चालन तथा असहाय अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई सेवा तथा सहयोग उपलब्ध गराउने प्रयासहरू अघि बढाएको जनाएको छ ।
कार्यक्रमको अन्त्यमा संघ गठन र सञ्चालनमा सहयोग पुर्याउने वडा समिति, टोल विकास संस्था, बुद्धिजीवी, सामाजिक व्यक्तित्व तथा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति धन्यवाद व्यक्त गरिएको थियो । साथै प्रथम अधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना समेत दिइएको थियो ।
