भरतपुर महानगरपालिका–२ मा झन्डै ५ करोड रुपैयाँ बराबरका विभिन्न विकास निर्माणका काम सम्पन्न भएका छन् । बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशी को पहलमा आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य, धार्मिक तथा पूर्वाधार क्षेत्रका योजनाहरूले तीव्रता पाएका हुन् ।
वडा नम्बर–२ अन्तर्गत स्वास्थ्य कार्यालय निर्माण, विभिन्न मठमन्दिरको स्तरोन्नति, सडक कालोपत्रे तथा नाला व्यवस्थापनलगायतका योजनामा पर्याप्त बजेट विनियोजन गरी समयमै काम सम्पन्न गरिएको बताइएको छ । स्थानीयस्तरमै आवश्यकताका आधारमा योजना छनोट गरी प्रभावकारी कार्यान्वयन गरिएकाले नागरिकले प्रत्यक्ष लाभ लिन थालेका छन् ।
पूर्वमन्त्री जोशीले शुक्रबार वडा नम्बर–२ मा सम्पन्न योजनाहरूको स्थलगत निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाट, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
निरीक्षणपछि बोल्दै वडाध्यक्ष रानाभाटले पूर्वमन्त्री जोशीले आफ्नो जिम्मेवारीप्रति देखाएको इमान्दारिता, सक्रियता र विकासप्रतिको प्रतिबद्धता अनुकरणीय रहेको बताउनुभयो । उहाँले “जनताको आवश्यकता बुझेर योजनालाई परिणाममुखी ढंगले अघि बढाउने नेतृत्व अहिलेको आवश्यकता हो,” भन्दै जोशीको योगदानको प्रशंसा गर्नुभयो ।
स्थानीयवासीले समेत छोटो समयमै स्वास्थ्य, सडक तथा धार्मिक पूर्वाधार क्षेत्रमा उल्लेखनीय काम भएको भन्दै खुशी व्यक्त गरेका छन् । विकास निर्माणका योजनाले वडा नम्बर–२ को समग्र स्वरूप परिवर्तन हुँदै गएको स्थानीयको भनाइ छ ।
