बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशी ले आफ्नो कार्यकालमा अघि बढाइएका विकास निर्माण योजनाहरूको स्थलगत निरीक्षण गर्नुभएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारमार्फत सञ्चालन भएका विभिन्न योजनाको अवलोकन गर्दै उहाँले विकासलाई परिणाममुखी र जनताले प्रत्यक्ष अनुभूति गर्ने ढंगले अघि बढाइएको बताउनुभयो ।
भरतपुर महानगरपालिका–५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ र वडा नं. ७ का वडाध्यक्ष राजेन्द्र काफ्ले सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग संयुक्त रूपमा निरीक्षण गर्दै पूर्वमन्त्री जोशीले आफ्नो पहलमा सम्पन्न तथा निर्माणाधीन योजनाहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको हो ।
भरतपुर–५ र ७ मा मात्रै झन्डै ४ करोड रुपैयाँ बराबरका योजनाहरू कार्यान्वयनमा रहेका छन् । केही आयोजना सम्पन्न भइसकेका छन् भने बाँकी योजनाहरू अन्तिम चरणमा पुगेका छन् । स्थानीयवासीले समयमै बजेट व्यवस्थापन गरी प्रभावकारी रूपमा काम सम्पन्न भएको भन्दै पूर्वमन्त्री जोशीप्रति खुसी व्यक्त गरेका छन् ।
उहाँको पहलमा खेलमैदान, विद्यालय, मठमन्दिर, गुम्बा, पार्क तथा सामुदायिक पूर्वाधारहरूको निर्माण र स्तरोन्नति भएको जनाइएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूले समेत यी योजनाले वडाको विकासमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
