चितवनको भरतपुरस्थित गुरुकुल सिए कलेज ले सिए अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि छात्रवृत्ति परीक्षा सञ्चालन गर्ने भएको छ । कलेजले बिहीबार पत्रकार सम्मेलनमार्फत आगामी जेठ ५ गते सिए फाउण्डेशन लेभलका लागि छात्रवृत्ति परीक्षा आयोजना गरिने जानकारी दिएको हो ।
देशभर पाँच शाखामार्फत सिए शिक्षा प्रदान गर्दै आएको कलेजले उत्कृष्ट विद्यार्थीलाई आकर्षक छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ । कलेजका अध्यक्ष विशाल भट्राई का अनुसार यस वर्ष ९ जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । तीमध्ये एक जना विद्यार्थी चितवन शाखाबाट पूर्ण छात्रवृत्तिका लागि छनोट हुनेछन् । साथै ७५ प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति पनि एक–एक जनालाई उपलब्ध गराइनेछ ।
उहाँले छात्रवृत्ति परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई १० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । विज्ञान तथा व्यवस्थापन संकाय अध्ययन गरेका विद्यार्थीले उक्त परीक्षामा सहभागी हुन पाउनेछन् ।
आईक्यानद्वारा मान्यता प्राप्त सिएको पाँच वर्षे कोर्ष सञ्चालन गर्दै आएको गुरुकुल सिए कलेज काठमाडौं, चितवन, विराटनगर, मोरङ र रुपन्देहीमा फैलिएको छ । कलेजले आफू नेपालका उत्कृष्ट १० सिए कलेजभित्र पर्न सफल भएको दाबी गरेको छ । देशभर सिए अध्ययन गर्ने करिब ६० प्रतिशत विद्यार्थी गुरुकुलसँग आबद्ध रहेको कलेजको भनाइ छ ।
कलेजका प्रबन्ध निर्देशक परसमा पौडेल ले गत वर्ष चितवन शाखामा ८७ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिनुभयो । कलेजले सिएसँगै एसिसिएका कक्षासमेत सञ्चालन गर्दै आएको छ ।
कलेजका अनुसार सिएको पाँच वर्षे अध्ययन पूरा गर्न पाँचदेखि सात लाख रुपैयाँसम्म खर्च लाग्नेछ भने एसिसिए अध्ययनका लागि ६ देखि ८ लाख रुपैयाँसम्म खर्च हुने गर्दछ । गुरुकुल सिए कलेजले हरेक वर्ष जेठ महिनाबाट नयाँ भर्ना प्रक्रिया सुरु गर्ने गरेको छ ।
