चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले मोफसलमै पहिलोपटक अत्याधुनिक ‘रोबोटिक सर्जरी’ सेवा औपचारिक रूपमा सुरु गरेको छ।
राजधानीबाहिर उच्चप्राविधिक उपचार सुविधा विस्तार गर्दै सिएमसीले नेपालमा दोस्रो रोबोटिक सर्जरी सेवा सञ्चालनमा ल्याएको हो।
रोबोटिक तथा युरो सर्जन डा. प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जन डा. विशाल आचार्य र डा. रोहितकुमार मिश्रको नेतृत्वमा यो सेवा प्रारम्भ गरिएको अस्पतालले जनाएको छ। सेवा सुरुआतसँगै हालसम्म १४ सफल रोबोटिक शल्यक्रिया सम्पन्न भएका छन्।
डा. गुरुङका अनुसार रोबोटिक प्रणाली परम्परागत चिरेर गर्ने वा साधारण दुरबिन (ल्याप्रोस्कोपी) सर्जरीभन्दा अझ आधुनिक, सटिक र सुरक्षित विधि हो। “रोबोटले सर्जरी गर्छ भन्ने होइन; चिकित्सकले तयार पारेको योजनाअनुसार कम्प्युटरद्वारा नियन्त्रित रोबोटिक हातहरूले शल्यक्रिया सम्पन्न गर्छ,” उहाँले स्पष्ट पार्नुभयो।
उहाँका अनुसार यस प्रविधिमा प्रयोग हुने उपकरण अत्यन्त संवेदनशील र उच्च–सटीकता भएका हुन्छन्, जसले मानव हातले गर्न कठिन हुने सूक्ष्म शल्यक्रियासमेत सजिलै सम्भव बनाउँछ। न्यून रक्तश्राव, कम पीडा, कम दाग, छोटो अस्पताल बसाइ र छिटो स्वास्थ्यलाभ यस प्रविधिका प्रमुख फाइदा हुन्। विशेषगरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक तथा क्यान्सर सर्जरीमा रोबोटिक विधि उपयोगी मानिन्छ।
डा. गुरुङका अनुसार शरीरमा सानो प्वालमार्फत शल्यक्रिया हुने भएकाले अन्य अंगहरूमा क्षति अत्यन्त न्यून हुन्छ र शल्यक्रियाको परिणाम सुरक्षित तथा भरपर्दो आउने गर्छ। “बिरामी छिटो निको हुने, जोखिम कम हुने र ठूलो जटिल शल्यक्रियामा समेत उत्कृष्ट नतिजा आउने भएकाले यो प्रविधिको माग बढ्दो छ,” उहाँको भनाइ छ।
यद्यपि शुल्क केही महँगो हुने भए पनि छोटो अस्पताल बसाइ, कम जोखिम, छिटो निको हुने दर तथा समय बचतका कारण समग्रमा बिरामीका लागि यो विधि फाइदाजनक हुने अस्पतालको दाबी छ।
यसैबीच, सिएमसीका प्रमुख प्रशासक प्रताप देवकोटाले अस्पतालले चीनमा निर्मित, युरोपियन सुरक्षा प्रमाणीकरण प्राप्त ‘टुमाइ’ ब्रान्डको रोबोटिक प्रणाली प्रयोगमा ल्याएको जानकारी दिनुभयो। झन्डै ३२ करोड रुपैयाँ लागतमा भित्र्याइएको यो आधुनिक प्रविधिले मोफसलमै उच्चस्तरीय सर्जिकल सेवा सम्भव बनाएको उहाँले बताउनुभयो।
