मुग्लिन–पोखरा सडक विस्तार परियोजनाको पश्चिम खण्डमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको ३८.८८ किलोमिटर लामो खण्डमा सडक स्तरोन्नति तथा पुल–नाला निर्माणका काम भइरहँदा दैनिक करिब ६ सय श्रमिक रोजगारमा संलग्न रहेका छन्।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार श्रमिक संख्याका आधारमा मासिक झन्डै १८ हजार जनाले रोजगारी पाउने गरेको छ। त्यस्तै, २० जना विशेषज्ञ परामर्शदाता समेत परियोजनामा कार्यरत छन्।
उहाँका अनुसार पश्चिम खण्डको निर्माण कामले हालसम्म ५९.७६ प्रतिशत भौतिक र ४७.८० प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको छ। ३८.८८ किलोमिटर सडकमध्ये ३७.४ किलोमिटरमा पहिलो तहको कालोपत्र एकतर्फी रूपमा पूरा भइसकेको छ।
यस खण्डमा योजनाअनुसार रहेका १२ मध्ये ११ पुल निर्माण सकिएका छन् भने सेती नदीमा निर्माणाधीन पुलमा हाल ४७ प्रतिशतभन्दा बढी भौतिक तथा वित्तीय प्रगति भएको छ। पुलका ४ पाइलक्याप तथा १२० वटा पाइल निर्माण सम्पन्न भइसकेका छन्।
गत आर्थिक वर्षमा २५ किमि चार लेन सडक निर्माण गर्ने लक्ष्य राखिएकोमा २३.०६ किमि कालोपत्र पूरा भएको आयजनाले जनाएको छ। पुल निर्माणको लक्ष्य भने पूरा भइसकेको छ।