भरतपुर महानगरपालिका–९ शरदपुरमा रहेको माँ शक्ति कृषि विकास प्रा.लि. दुध डेरीमा गएराति अज्ञात समूहले चोरीको गरेको छ ।
चोरी हुन थालेपछि स्थानीयवासी र व्यवसायीहरू आत्तिएका छन् । स्थानीय बसोबास गर्दै आएका डेरीका संचालक भरत सापकोटाको डेरीमा अज्ञात समूहले तोडफोड गर्दै ठूलो रकम बराबरको क्षति गरेको डेरीका कर्मचारी हरी पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार उनीहरूले साँझकाे समयमा सधैंझैँ पसल बन्द गरेर घर फर्किएका थिए। तर बिहान करिब ६ बजे पसल खोल्न जाँदा डेरीभित्रको सामग्री अस्तव्यस्त अवस्थामा भेटिएको र चोरी भएको पुष्टि भएको बताए ।
चोरहरूले डेरीमा जडान गरिएका सीसी क्यामेरा, कम्प्युटर, रेकर्डर (सिपियु) समेत फुटाइ नष्ट पारेका थिए। साथै ठूलो परिमाणमा सामान हराएको र लाखौँ रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको संचालक पक्षको दाबी छ।
घटनापछि पौडेलले तुरुन्तै प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी टोली आएर मुचुल्का बनाई अनुसन्धान अघि बढाएको बताइएको छ। चोरीमा संलग्न समूहले सामान बोक्न डोको प्रयोग गरेको अनुमान डेरी संचालकको छ, किनकि चोरीमा प्रयोग भएको डोको घटनास्थलमै फालिएको अवस्थामा भेटिएको छ।
स्थानीय व्यवसायहरूमा बढ्दो चोरी प्रयासले सुरक्षा व्यवस्थाप्रति प्रश्न उठिरहेका बेला यो घटना थप चुनौतीका रूपमा देखिएको छ।