सरकारले मल्टिनेसनल कम्पनीलाई कोटा प्रणालीमार्फत मह आयात गर्न दिने निर्णय गरेपछि देशभरका मौरीपालक आन्दोलनमा उत्रिएका छन्।
नेपाल मौरीपालक महासंघले भरतपुरमा पत्रकार सम्मेलन गरी यस निर्णयले घरेलु मह उद्योग, किसानको लगानी र बजार मूल्यमा ठूलो जोखिम उत्पन्न भएको बताएको छ।
महासंघले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार नेपालमा हाल २ हजार १ सय ७५ व्यावसायिक मौरीपालक, १ लाख १५ हजार १ सय ८३ मौरी गोला र वार्षिक ४ हजार १ सय ९२.३ टन मह उत्पादन भइरहेको छ । चितवन, नवलपरासी (सु.पु.) र सुर्खेत देशका प्रमुख उत्पादन केन्द्रका रूपमा देखिएका छन्।
महासंघका वरिष्ठ उपाध्यक्ष पदम प्रसाद अमगाईंले “अनियन्त्रित मह आयातले हजारौँ किसानलाई अस्तित्व संकटमा पुर्याउने” भन्दै सरकारलाई निर्णय फिर्ता लिन आग्रह गर्नुभयो ।
महासंघले मह आयात खुला भए स्थानीय महको मूल्य गिरावट, ब्रान्ड कमजोर हुने र ग्रामीण रोजगारी प्रभावित हुने चेतावनी दिएको छ। निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने जनाएको महासंघले सबै सरोकारवालालाई घरेलु महको संरक्षणमा साथ दिन अपिल गरेको छ।
#PRD0820811

