सौराहामा आगामी पौष ११ देखि १३ गतेसम्म १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ ।
क्षेत्रीय होटल संघ नेपाल–चितवनको आयोजना तथा रत्ननगर नगरपालिका र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह–आयोजनामा हुने महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुहुनेछ ।
वि.सं. २०५५ बाट सुरु भएको यस महोत्सवले चितवनको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्दै आएको छ। हरेक बर्ष पर्यटक वृद्धिमा समेत योगदान पुर्याइरहेको महोत्सवमा लगभग ७०–८० हात्ती, सांस्कृतिक झाँकी, हात्ती श्रृंगार, डुँगा रेस, हात्ती बनभोज, स्वास्थ्य शिविर, सफारी प्रवर्द्धन लगायतका कार्यक्रम हुनेछन्।
यस वर्ष कार्यक्रमलाई वन्यजन्तु–मैत्री मापदण्ड अनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ। हात्तीमाथि कुनै प्रकारको क्रूर व्यवहार निषेध गरिएको र सबै गतिविधि पशुचिकित्सकको निगरानीमा सञ्चालन हुने जानकारी दिइएको छ।
महोत्सवले चितवनको जैविक विविधता, मानव–वन्यजन्तु सहअस्तित्व, स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनलाई थप बलियो बनाउने कार्यक्रम संयोजक गुणराज थपलियाले जानकारी दिनुभयो ।

