श्रुति सङ्गीत पाठशालाले गजल मञ्च चितवनसँग सहकार्य गर्दै स्वरसम्राट नारायण गोपालको ३५औँ पुण्यतिथिको अवसरमा ‘स्मृति साङ्गीतिक साँझ–२०८२’ आयोजना गर्ने भएको छ ।
पाठशालाले यही मंसिर २० गते शनिबार साँझ भरतपुर–४ स्थित वैदिकनगरको स्वाद सदनमा कार्यक्रम गर्न लागेको हो ।
पाठशालाका सञ्चालक तथा सङ्गीत प्रशिक्षक चन्द्र घलेका अनुसार उक्त साँझ नारायण गोपालसँगै नेपाली गीत–सङ्गीत क्षेत्रमा अतुलनीय योगदान दिएका तथा हालसम्म दिवङ्गत भइसकेका वरिष्ठ गायक–गायिकालाई एकै मञ्चबाट स्मरण गरिनेछ ।
कार्यक्रममा पाठशालाका विद्यार्थीहरू सहित सात जना कलाकारले १४ वटा गीत प्रस्तुत गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
‘हामीले नारायण गोपालको पुण्यतिथि पारेर कार्यक्रम आयोजना गरे पनि समग्रमा सबै अग्रज कलाकारप्रति सम्मान प्रकट गर्ने उद्देश्य राखेका छौँ,’ घलेले भने, ‘त्यसैअनुसार प्रेमध्वज प्रधान, भक्तराज आचार्य, तारादेवी, अरूणा लामा, अरूण थापा लगायतका दिवङ्गत व्यक्तित्वलाई पनि एकैसाथ सम्झिने प्रयत्न गरेका हौँ ।’
नारायणगोपालका समकालीन स्रष्टाहरूलाई एकसाथ स्मरण गर्दा नयाँ पुस्ताका कलाकारलाई सिक्न र आफूलाई निखार्ने अवसरसमेत मिल्ने विश्वाससहित स्मृति दिवसको अवसरमा कार्यक्रम गर्ने तयारी गरिएको उनले बताए । हाल कार्यक्रमका लागि नियमित अभ्यास चलिरहेको पनि उनले जानकारी दिए ।
भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको सहयोग तथा गजल मञ्च चितवनसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो । मोफसलमै बसेर नेपाली गीत–सङ्गीतमा रुचि राख्ने स्रष्टा तथा साधकलाई अवसर प्रदान गर्ने उद्देश्यसहित २०६० सालमा श्रुति सङ्गीत पाठशालाको स्थापना गरिएको थियो ।
दुई दशकभन्दा बढी अवधिमा करिब तीन हजार विद्यार्थीले यहाँबाट गीत–सङ्गीतको औपचारिक प्रशिक्षण प्राप्त गरिसकेका छन् । विसं १९९६ असोज १८ गते जन्मिएका नारायणगोपाल गुरूवाचार्यको २०४७ साल मंसिर १९ गते निधन भएको थियो ।
नेपाली सुगम सङ्गीतको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका कारण ‘स्वरसम्राट्’को उपाधि पाएका उनका दर्जनौँ कालजयी गीत आज पनि नयाँ पुस्तामा उत्तिकै लोकप्रिय छन् ।

