दाङको देउखुरीस्थित लमहीमा अन्तरराष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशाला निर्माण भए पनि खेल सञ्चालन नहुँदा अलपत्र परेको छ ।
राष्ट्रियस्तरका ठूला खेल खेलाउन सकिने रङ्गशाला तयार भए पनि पछिल्लो एक वर्षयता एउटा पनि खेल भएका छैनन् ।
खेल नहुँदा अहिले मैदानमा घाँस उम्रिएको छ भने फोहरले अव्यवस्थित बनेको छ । लमही नगर विकास समितिको रु आठ करोड लगानीमा रङ्गशाला निर्माण भएको हो । अहिले संरक्षणको काम पनि समितिले गरिरहेको छ ।
“करोडौँ लगानी गरेर रङ्गशाला निर्माण भएको छ”, समितिका इञ्जिनियर तुलसी अर्यालले भन्नुभयोे, “तर खेल नहुँदा घाँस उम्रिनुका साथै फोहरले अव्यवस्थित बनेको छ ।” खेल भएमा जति बेला पनि रङ्गशालामा उम्रिएको घाँस काट्न सकिने जनाउँदै उहाँले अहिले घाँस काटे पुनः उम्रिहाल्ने उल्लेख गर्नुभयो ।
“घाँस काट्दा खर्च मात्रै हुने हो । खेल नहुने भएपछि घाँस काट्नुको पनि कुनै अथै छैन । राष्ट्रियस्तरका खेल खेलाउन सकिने गरी मैदान तयार भएको छ”, इञ्जिनियर अर्यालले भन्नुभयो “तर, खेल सञ्चालन नहुँदा लगानी र समय खेर गएको छ ।” विगतमा राष्ट्रपति रनिङशिल्ड, मेयर कपलगायत प्रतियोगिता सञ्चालन भए पनि पछिल्ला वर्षमा त्यो पनि नभएको उहाँको भनाइ छ ।
