आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ ।
स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रबर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन प्रारम्भ भएको हो ।
राष्ट्रसङ्घीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तरराष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको हो ।
यस अवसरमा आज न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको महासभा हलमा सदस्य राष्ट्रहरूले स्वयंसेवालाई विकास रणनीतिमा समावेश गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्न प्रतिबद्धता जनाउने अपेक्षा गरिएको राष्ट्रसङ्घले जनाएको छ ।
यसै अवसरमा एक सन्देश जारी गर्दै महासचिव एन्टोनियो गुटरेसले सबै स्वयंसेवकप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।
सन्देशमा उनले प्राकृतिक विपद्, द्वन्द्वग्रस्त समुदायलाई सहयोग, गरिबी निवारणमा काम गर्नेलगायत चुनौती सामना गर्दै आफ्नो समय, ऊर्जा र सीप स्वेच्छिक रूपमा समर्पण गर्ने स्वयंसेवकहरूको त्याग, साहस र मानवता वर्तमान विश्वका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरेका छन् ।
राष्ट्रसङ्घका १६९ सदस्य देशमा शान्ति, न्याय र समानता स्थापित गर्न राष्ट्रसङ्घका स्वयंसेवकहरू क्रियाशील छन् ।
स्वस्थ माटोको महत्वप्रति ध्यानाकर्षण गराउने र माटोको दिगो व्यवस्थापनका लागि जनचेतना बढाउने उद्देश्यसहित हरेक वर्ष डिसेम्बर ५ मा यो दिवस मनाइने गरिएको छ ।