सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
सञ्चारिका समूह नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘लैङ्गिक हिंसा र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाहरूको दोहोरो जिम्मेवारी रहने बताउनुभयो ।
महिला साथीहरूको दोहोरो जिम्मेवारी रहने बताउँदै उहाँले ‘पहिला आफू सुरक्षित रहने’ र ‘यस क्षेत्रलाई सुरक्षित राख्ने’ रहेको उल्लेख गर्नुभयो ।
“पहिला आफू सुरक्षित रहँदै यस क्षेत्रलाई पनि सुरक्षित राख्ने दायित्व महिला पत्रकारहरूमाथि छ । त्यसैले हाम्रा सामग्री, समाचार र विषयवस्तु र पैरवीहरू डिजिटल हिसाबबाट मुक्त गर्ने किसिमका हुनुपर्छ”, सञ्चारमन्त्री खरेलले भन्नुभयो । अहिले लैङ्गिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसाविरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको उहाँले उल्लेख गर्नुभयो ।
“तपाईँ परिवारमाझ हुनुहुन्छ, आफू सुरक्षित रहेको अनुभूति गर्नुहुन्छ, तर तपाईँको मोबाइलमा आइरहेका सामाजिक सञ्जालका विभिन्न सामग्रीले असुरक्षित महसुस गराउनसक्छ । त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाको बहस सुरु गर्नु अपरिहार्य छ । प्रविधिले सहजतासँगै त्रास पनि ल्याएको छ, यसको सही सदुपयोग गरिनुपर्छ”, मन्त्री खरेलले भन्नुभयो ।
मन्त्री खरेलले देश र समाज विस्तारै समतालाई आत्मसात् गर्दै समानताको बाटोमा अघि बढिरहेको बताउँदै आज हरेक हिसाबले महिलाहरू राजनीतिक, निजामती, पत्रकारितामा तथा समाजका विभिन्न पद र प्रतिष्ठामा आइराख्दा यसले सकारात्मक अर्थ र परिणाम दिएको उल्लेख गर्नुभयो ।
