सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्ना तर्फबाट तयारी गरिरहेको बताउनुभएको छ ।
गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले भन्नुभयो, “निर्वाचन सफल बनाउने वातावरणका लागि सरकारले काम गरिरहेको छ, मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ । निर्वाचनत उत्सव होइन, अब महोत्सव बन्दैछ ।”
निर्वाचनका लागि सरकारले स्रोतसाधन र जनशक्तिको व्यवस्था गरेर तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । “मुलुक निर्वाचनको दिशामा अगाडि बढिसकेको छ, सरकारले सबै तयारी गरिसकेको छ, निर्वाचन आयोगले पनि निरन्तर काम गरिरहेको छ । सबैजसो राजनीतिक दल निर्वाचनमा होमिएका छन् ।”
सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निर्वाचन सम्पन्न गर्ने कार्यदिशा पूरा गर्न सक्रिय भएको उल्लेख गर्नुभयो ।
उहाँले तीन महिनामा ३० भन्दाबढी भ्रष्टाचारका मुद्दा अदाललतमा पुगेका जानकारी दिनुहुँदै विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य भएको प्रष्ट पार्नुभयो । मन्त्री खरेलले भन्नुभयो, ‘‘हामीले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रूपमा अगाडि बढ्न सहयोग गरेका छौँ ।’’

