राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं वर्तमान सांसद बिक्रम पाण्डेको नाम सिफारिस गरेको छ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा चितवन–३ बाट पाण्डेलाई उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरिएको पार्टी स्रोतले जनाएको छ।
वि.सं. २०५६ सालदेखि निरन्तर सोही क्षेत्रबाट निर्वाचन लड्दै आउनुभएका पाण्डे अनुभवी र लोकप्रिय नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँ वि.सं. २०७० सालको संविधान सभा निर्वाचन र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा गरी दुई पटक निर्वाचित भइसक्नुभएको छ।
लामो राजनीतिक अनुभव, क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धता र विकासका एजेन्डाका कारण पाण्डेको उम्मेदवारीले चितवन–३ मा राप्रपालाई थप बल पुग्ने पार्टीको विश्वास रहेको छ।

