चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ यही माघ २५ देखि २९ गतेसम्म चितवनको प्रदर्शनी केन्द्र, भरतपुर–१० मा आयोजना हुने भएको छ।
“डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि” भन्ने नारासहित आयोजना हुने एक्स्पोमा डेरीजन्य उत्पादन, अत्याधुनिक मेशिनरी, पशु आहार, भेटेरिनरी सेवा, प्याकेजिङ, बैंक–बीमा, स्टार्टअप प्याभिलियनसहित १०० भन्दा बढी स्टल रहनेछन्।
प्रदर्शनीमा कार्यशाला, तालिम, बी–टु–बी मिटिङ, सफल किसान तथा उद्यमीका अनुभव, प्रत्यक्ष प्रदर्शन, पुरस्कार वितरण, फुड स्टललगायत कार्यक्रम समावेश हुनेछन्। सातै प्रदेशबाट उत्कृष्ट दुग्ध उत्पादक किसान र गाई प्रदर्शनीलाई पनि पुरस्कृत गरिनेछ।
करिब ५० हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको एक्स्पोले डेरी उद्योगमा प्रविधि हस्तान्तरण, बजार विस्तार, लगानी आकर्षण, निर्यात प्रवर्द्धन र किसान–उद्यमीबीच सहकार्य बढाउने विश्वास आयोजकले लिएका छन्।
कार्यक्रम सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकार, दुग्ध विकास बोर्ड, सहकारी, शैक्षिक संस्था तथा निजी क्षेत्रसँग सहकार्य भइरहेको जनाइएको छ।

