चितवन उद्योग वाणिज्य संघको आगामी पुष २१ गते हुने अधिवेशनलाई लिएर चुनावी सरगर्मी बढ्दै गएको छ।
यसपटक संघको नेतृत्वका लागि दुई बलिया प्यानल चुनावी मैदानमा उत्रिएका छन्, जसले व्यवसायी समुदायमा व्यापक चासो सिर्जना गरेको छ।
एक पक्षबाट संघका वर्तमान वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुबेदी अध्यक्ष पदका उम्मेदवार बनेका छन् भने अर्कोतर्फ संघका सल्लाहकार शिरिष पन्तले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
दुवै उम्मेदवारले फरक दृष्टिकोण र कार्यशैली प्रस्तुत गरिरहेका बेला पन्तको उम्मेदवारीलाई ‘परिणाम दिन सक्ने नेतृत्व’को रूपमा हेरिन थालिएको छ।
पछिल्लो समय उद्योग वाणिज्य संघले खेल्नुपर्ने भूमिका, व्यवसायीका अधिकारको संरक्षण, लगानीमैत्री वातावरण निर्माण र संघको संस्थागत सुधारजस्ता विषयमा पन्तले स्पष्ट र व्यवहारिक धारणा राख्दै आएका छन्। उनको सक्रियता, योजनामुखी सोच र युवा ऊर्जा व्यवसायीहरूबीच आकर्षणको केन्द्र बनेको देखिन्छ।
व्यवसायीहरूका अनुसार पन्त भाषणभन्दा कार्यान्वयनमा विश्वास गर्ने नेता हुन्। स्पष्ट भिजन, समन्वय क्षमता र समस्याको जडमै पुगेर समाधान खोज्ने शैलीका कारण उनलाई समर्थन गर्नेहरूको संख्या क्रमशः बढ्दै गएको छ।
अध्यक्ष पदको उम्मेदवारीबारे आफ्नो धारणा राख्दै पन्त भन्छन्,
“उद्योग वाणिज्य संघ चितवनको इतिहास गौरवपूर्ण छ। यस गरिमालाई जोगाउँदै बदलिँदो समयअनुसार संघलाई थप प्रभावकारी बनाउनु र व्यवसायीको हक–हित सुनिश्चित गर्नु मेरो मुख्य लक्ष्य हो।”
युवा सोच र व्यवहारिक योजनासहित मैदानमा उत्रिएका पन्तको उम्मेदवारीले यसपटकको निर्वाचनलाई केवल व्यक्तिको होइन, नेतृत्वको शैली र परिणामको अपेक्षाबीचको प्रतिस्पर्धाका रूपमा अघि बढाइरहेको छ।

