चितवनका सक्रिय राजनीतिक व्यक्तित्व ईश्वरी प्रसाद कंडेलसँग समसामयिक राजनीति, नेपाली कांग्रेसको अवस्था र आगामी सरकारप्रतिको अपेक्षाबारे गरिएको कुराकानी:
पछिल्लो निर्वाचन परिणामलाई तपाईं कसरी लिनुहुन्छ?
यो परिणाम आकस्मिक जस्तो देखिए पनि यसलाई जनमतको अभिव्यक्तिको रूपमा स्वीकार गर्नैपर्छ। लोकतन्त्रको मूल मर्म नै जनताको निर्णयलाई सम्मान गर्नु हो। परिणाम जसरी आए पनि त्यसलाई अस्वीकार गर्ने होइन, बरु त्यसबाट सिक्ने र सुधार गर्ने हो।
यस्तो परिणाम आउनुको मुख्य कारण के देख्नुहुन्छ?
यसको प्रमुख कारण नेपाली कांग्रेसको विगत नेतृत्वकै कमजोरी हो। निर्वाचनका बेला सिद्धान्त, विधान र पार्टीको मूल मर्मविपरीत अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न लगाउने प्रवृत्ति देखियो। त्यसलाई अस्वीकार गर्नेहरूलाई बहुमतको नाममा कारबाही गर्नु झन् ठूलो गल्ती भयो। यसले कार्यकर्ता मात्र होइन, आम जनतामा पनि निराशा र विचलन ल्यायो।
विशेष महाधिवेशन २०८२ लाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ?
भाद्र २३ मा भएको विशेष महाधिवेशन अत्यन्त सकारात्मक कदम थियो। युवापुस्ताको भावना (Gen-Z सोच) लाई सम्मान गर्दै गगन थापाको नेतृत्व स्थापित हुनु ठूलो सन्देश थियो।
यदि त्यो परिवर्तन नभएको भए, नेपाली कांग्रेसलाई जनताको अगाडि उभिन समेत गाह्रो पर्ने अवस्था आउन सक्थ्यो। तर पनि, शेरबहादुर नेतृत्व समूहका गुटबन्दी गतिविधिका कारण अपेक्षित चुनावी सफलता हासिल हुन सकेन।
निर्वाचन प्रक्रियाबारे तपाईंको धारणा के छ?
निर्वाचन समयमै सम्पन्न गर्नु सुशीला कार्कीको ठूलो उपलब्धि हो। उहाँले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्नुभयो र धन्यवादको पात्र बन्नुभएको छ। तर अप्रत्याशित जनमत कसरी आयो भन्ने विषय अझै पनि चर्चा र चासोको केन्द्रमा छ।
अहिले बनेको सरकारप्रति तपाईंको अपेक्षा के छ?
करीब दुई तिहाइ जनमत प्राप्त सरकारले जनताको विश्वासलाई आत्मसात गर्नुपर्छ। तेरो–मेरो नभनी निष्पक्ष ढंगले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्छ। जनताले किन भरोसा गरेर मतदान गरे भन्ने कुरा बुझेर काम गर्नु अहिलेको मुख्य जिम्मेवारी हो।
वर्तमान नेपाली कांग्रेस नेतृत्वबाट के अपेक्षा गर्नुहुन्छ?
हालको नेतृत्व विवादरहित ढंगले अघि बढ्ने प्रयासमा देखिन्छ, जुन सकारात्मक संकेत हो। अब विगतका कमजोरी अन्त्य गर्दै सिद्धान्त, विधि र विधानअनुसार पार्टी सञ्चालन गर्नुपर्छ। ऐतिहासिक विरासतको संरक्षण गर्दै जनआकांक्षा अनुसार पार्टीलाई अघि बढाउनु आवश्यक छ।
अन्त्यमा तपाईंको सन्देश के छ?
राष्ट्र र राष्ट्रियताको सवालमा कहिल्यै सम्झौता हुनु हुँदैन। वीर गोर्खालीको इज्जत र प्रतिष्ठामा आंच पुग्ने कुनै पनि विषयमा सचेत रहनुपर्छ। लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनताको विश्वास जित्नु नै सबैभन्दा ठूलो लक्ष्य हुनुपर्छ।
