नेपाली कांग्रेसका वरिष्ठ नेता तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकप्रसाद गुरुङ पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा निष्ठा, संघर्ष र संगठनको पर्याय बनेका नाम हुन्। पञ्चायतकालीन दमनदेखि २०६२÷६३ को जनआन्दोलन, संविधान निर्माणदेखि हालै देखिएको जेन्जी आन्दोलनसम्म उहाँको राजनीतिक जीवन सधैँ समयको आवाजसँग जोडिएको छ।
अनुभवले परिपक्व र परिवर्तनप्रति खुला सोच भएका गुरुङ आज पनि नयाँ पुस्ताको असन्तोष, प्रश्न र अपेक्षालाई गम्भीरतापूर्वक सुन्ने नेताको रूपमा चिनिनुहुन्छ।
पारिवारिक पृष्ठभूमिः
२००४ सालमा स्याङ्जा जिल्लाको ढापुक सिमलभन्ज्याङमा जन्मिनुभएका टेकप्रसाद गुरुङ राष्ट्रसेवाको परम्पराबाट आएका परिवारका सन्तान हुनुहुन्छ। उहाँका हजुरबुवा इन्डियन आर्मीका क्याप्टेन र बुवा पनि इन्डियन आर्मीमै कार्यरत हुनुहुन्थ्यो। गुरुङ समुदायमा जन्मिनु भएका उहाँ साधारण तर अनुशासित परिवारमा हुर्कनुभयो । २०१७ सालमा वैवाहिक जीवनमा बाँधिनुभएका उहाँका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।
बाल्यकाल र प्रारम्भिक जीवनः
जन्मेको दुई वर्षमै बुवासँग भारतको ब्यारेकपुर पुग्नुभएका गुरुङले त्यहीँ कक्षा चारसम्म अध्ययन गर्नुभयो। २०१२ सालमा नेपाल फर्किएपछि स्याङ्जा हुँदै बुवाको अवकासपछि २०१७ सालमा हालको शारदानगर, चितवन बसाइ सर्नुभयो। बाल्यकालदेखि नै निर्भीक, हक्की स्वभाव र खेलकुदप्रेमी उहाँको घर कांग्रेसका गतिविधिको केन्द्रजस्तै थियो, जहाँ राजनीतिक छलफल र संगठन निर्माणका काम हुने गर्थे ।
शिक्षा
२०२२ सालमा शारदानगर स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं जानुभएका गुरुङले आई.एलको. अध्ययन सुरु गर्नुभयो। तर बुवाको असामयिक निधनले पारिवारिक जिम्मेवारी काँधमा आइपरेपछि औपचारिक शिक्षा बीचमै रोकियो। यद्यपि व्यवहारिक ज्ञान, राजनीतिक चेतना र संगठनात्मक क्षमतामा उहाँ कहिल्यै पछि पर्नुभएन।
राजनीतिक यात्राको सुरुवातःः
कांग्रेस पृष्ठभूमिमा हुर्कनुभएका गुरुङलाई २०१५ सालकै निर्वाचनको स्मृति आज पनि ताजा छ, जब उहाँ बालक उमेरमै झण्डा बोकेर ‘रुखमा भोट हालौँ’ भन्दै गीत गाउँदै हिँड्नुहुन्थ्यो। २०१८ सालको सैन्य दमन, धरपकड र निर्दोष नागरिकको हत्या उहाँले नजिकबाट देख्नुभयो। ती घटनाले उहाँ डराउनु भएन, बरु प्रजातन्त्रप्रतिको प्रतिबद्धता अझ दृढ बनायो।
पञ्चायत विरुद्धको संघर्ष र नेतृत्व
विद्यालयमा अध्यापन गरिसकेपछि उहाँ वडा अध्यक्ष हुँदै २०२९ सालमा गाउँ पञ्चायत अध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो। २०३५ सालमा शिवनगर ,पार्बतीपुर र शारदानगरको यौटा वार्ड गाभिएपछि प्रधानपञ्च र त्यसै वर्ष जिल्ला विकास समिति सभापति बन्नुभयो। २०३६ सालको जनमतसंग्रहमा कांग्रेस पक्षमा खुलेर वकालत गरेकै कारण २०३७ सालमा पञ्चायत सरकारले उहाँलाई पदबाट निलम्बन गर्यो। सत्ता गयो, तर विचार र साहस कहिल्यै डगमगाएन ।
कांग्रेस संगठन निर्माणमा भूमिका
२०३९ र २०४३ सालमा जिल्ला सभापति निर्वाचित हुँदै उहाँ पाँच पटकसम्म चितवन कांग्रेसको नेतृत्वमा रहनुभयो। कांग्रेसको ८औं देखि १४औं महाधिवेशन सम्म निरन्तर महासमिति सदस्य र १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यसम्म पुग्दा पनि उहाँको पहिचान सधैँ संगठन निर्माणमा खटिने नेताकै रूपमा रह्यो।
शीर्ष नेतृत्वसंग निकटता
बीपी कोइरालालाई २०१६ सालमै देख्नुभएको र २०३२ सालमा प्रत्यक्ष भेट गर्नुभएको गुरुङ जमानसिंह गुरुङमार्फत बीपी, किसुनजी र गिरिजाप्रसाद कोइरालासँग नजिक रहेर काम गर्नुभयो। यही संगतले उहाँलाई सैद्धान्तिक रूपमा दृढ र व्यवहारिक रूपमा सन्तुलित नेता बनायो।
पदभन्दा पार्टी र सिद्धान्त
२०६२÷६३ को जनआन्दोलनमा काठमाडौंको गंगबु क्षेत्रमा गर्दै प्रहरीको कुटपिटबाट घाइते हुनु, ४९ दिन जेल जीवन बिताउनु र फेरि आन्दोलनमै फर्किनु उहाँका लागि राजनीतिक जिम्मेवारीका स्वाभाविक अध्याय थिए। २०७० सालमा संविधानसभा चुनावमा उम्मेदवारीको प्रस्ताव आए पनि पार्टी हितका लागि पछि हट्नु र मन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्नुले उहाँको राजनीतिक नैतिकता स्पष्ट देखाउँछ।
गगन थापासहित नयाँ पुस्ताको भरोसा
हालैको जेन्जी आन्दोलनलाई गुरुङ असन्तोषको अभिव्यक्ति मात्र होइन, प्रणाली सुधारको चेतावनीका रूपमा हेर्नुहुन्छ। कांग्रेस अब इतिहासको गौरवमा होइन, युवाको भरोसामा टिक्नुपर्छ भन्ने उहाँको धारणा छ। पार्टीमा कम्तीमा ५० प्रतिशत जेनेरेशन–नेक्स्टको सहभागिता हुनुपर्ने अडानकै कारण उहाँ गगन थापालगायत नयाँ पुस्ताका नेताबीच विश्वासको पात्र बन्नुभएको छ।
चितवन–३ का प्रमुख मुद्दा र विकास पहल
माडीलाई ‘प्राकृतिक जेल’बाट मुक्त गर्न राप्ती पुल निर्माणमा निर्णायक पहल, गर्दी–ठोरी सडक स्तरोन्नति र चेपाङ समुदायलाई नागरिक अधिकार तथा निःशुल्क शिक्षाको व्यवस्था गर्नु उहाँका महत्वपूर्ण योगदान हुन्। यी कामले उहाँलाई विकासलाई व्यवहारमा उतार्ने नेता बनाएको छ।
राजनीतिक जीवनका चुनौती र विश्वास
पाँच दशकको यात्रामा हार, अपमान र उपेक्षा धेरै आए। तर उहाँ कहिल्यै थाक्नुभएन। “कांग्रेसको एक मत पनि खेर गएन भने म जित्छु” भन्ने आत्मविश्वास लोभ–लाभबाट टाढा बसेको जीवनशैली र निष्ठाबाट आएको हो।
पारिवारिक साथ र व्यक्तिगत पीडा
राजनीतिक यात्रामा श्रीमतीको निरन्तर सहयोग उहाँको शक्ति थियो। श्रीमतीको निधन उहाँको जीवनको सबैभन्दा ठूलो पीडा बने पनि पार्टी र जनताले देखाएको विश्वास उहाँका लागि सबैभन्दा ठूलो सन्तोष हो।
निष्कर्ष
टेकप्रसाद गुरुङ पदका लागि होइन, पुस्ताबीच सेतु बन्न उम्मेदवार हुनुहुन्छ। अनुभव, इमान्दारिता र परिवर्तनप्रतिको खुला सोचका कारण उहाँ आज चितवन–३ का लागि भूत, वर्तमान र भविष्यलाई जोड्ने भरोसायोग्य नेतृत्वका रूपमा उभिनु भएको छ।






