लिच्छवि कालिन राजा मानदेबको पालादेखि नै आदिवासी समुदायको बसोवास रहेको पाइएपनी वि.स २०१८/१९ सालपछी थप बस्ती बिकास भएको चितवनकाे माडी नगरपालिका फरक भुगोलको रुपमा हेरिन्छ । चारैतिर वनजङ्गल ले घेरेको समथल उर्वर भूमिलाई सरकारले इको नगरपालिका घोषणा त गरेको छ तर इको नगरपालिकाको सम्बर्द्धन र प्रवर्द्धनमा संघिय सरकार उदासिन देखिएको छ।
यस क्षेत्रबाट संसद बनेकाहरु पटक पटक मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनेका छन । तर उनिहरुले माडीलाई दिएका छन् त केवल आश्वासन मात्र । फेरी पनि माडी का सोझा जनता उनको आश्वासनमा तालि बजाउन छोडेका छैनन् । माडीका स्थानिय अगुवाहरु बाबुको श्राद्ध गर्न छाडेका छन तर नेताको पुजा गर्न छाडेका छैनन् ।
हुन त माडीमा स्थानीय सरकार पनि छ तर उसलाई आफ्नो सामर्थ्यमा बिस्वास भन्दा आश्वासनमा आस लागिरहेको छ । माडीको सम्भावना पहिचान गरि सम्भावनामा सामर्थ्य को प्रयोग गरि सिद्धि प्राप्तीमा लाग्न भन्दा केही नेताका मुन्सीहरु बोकी डेलिगेसनको नाममा नगरपालिकाको बजेटमा मासुभात खुवाउदै राजधानी घुमाउने र नेताकोमा पुगी सेल्फी खिचाउनमा व्यस्त छन् ।
तत्कालीन गाविस अध्यक्षहरुले बफरजोन माडीका लागि सुनको अन्डा हुने जसरी व्याख्या गर्नु भएको थियो । तिनै गाबिस अध्यक्षहरु आज निकुञ्जलाई बाधक देखाईरहनू भएको छ । प्रतिकुलतालाई जनअनुकुल बनाउनु असल नेताको पहिचान हो । निकुञ्जलाई माडी अनुकुल बनाउन सकियो भने यसले माडिलाई योगदान दिनपनि सक्छ ।
डेलिगेशन गएर निकुञ्जको आकासेपुल र सुरुङमार्गको आस्वासन बोकेर आउन भन्दा बहुवर्षे योजनाका साथ बजेट बनाई डेलिगेशनमा गरेको खर्च करिडोर निर्माणमा लगायको भए सायद आधा आधी करिडोर निर्माण भइसक्ने थियो होला ।
माडीमा यस्ता धेरै सम्भावना छन जसले माडीको बिकासमा टेवा पुराउन सक्छन । निर्वाचन नजिकिन लागेपछी विभिन्न स्टन्टबाजी गर्ने र निर्वाचन सकिएपछी राजधानी पुगी सेल्फी खिच्ने नेताहरुलाई माडीवासीले नोटिसमा राख्नुपर्छ । बिकास हाम्रो अधिकार हो कुनै नेताले आफ्नो गाेजिबाट दिने भिख हैन जसको लागी बार बार जुम्लेहात गर्न जानपरोस ।
– दुर्लभ पाेख्रेल, माडी