कृषि ज्ञानकेन्द्र चितवनले यसबर्ष चितवनका सबै भूभागमा धान खेती गरिएको जनाएको छ ।
चितवनमा गतबर्ष २२ हजार ८ सय ७० हेक्टर क्षेत्रफलमा हुँदै आएको धान खेती यो बर्ष २४ हजार २४ सय ७ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको हो ।
कृषिज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले गत बर्ष भन्दा यसवर्ष धान रोपाइँको क्षेत्रफल बढेर जम्मा १.५ प्रतिशत जमिनमा मात्र रोपाइँ हुन बाँकी रहेको बताउनुभएको छ । पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै सूचना अधिकारी त्रिपाठीले अघिल्लो बर्ष जम्मा ९० प्रतिशत मात्र रोपाइँ भएको बताउनुभएको हो ।
यस बर्ष समयमा नै अत्यधिक वर्षा भएका कारण किसानहरुलाई रोपाइँ गर्न सहज भएको त्रिपाठीले जानकारी दिनुभयो । यो बर्ष चितवनमा ९८.५ प्रतिशत रोपाइँ सकिएको छ । अब भरतपुर र ईच्छाकामनाका केही भागमा मात्र रोपाइँ गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।
जिल्लाका सबै स्थानमा धानखेती हुने भएपनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई मुख्य क्षेत्रका रूपमा लिने गरिन्छ । प्राय चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, हर्दिनाथ, गरिमा, राधाचार, गोरखनाथ, जिरामसिनाजस्ता जातका धान लगाइने गरिन्छ ।
उता, चैतेधान खेतीमा भन्दा बढी रोगकिराहरुको संक्रमण बर्षेधान खेतीमा देखिएको बालीरोग विशेषज्ञ सुकबहादुर गुरुङले जानकारी दिनुभयो ।
ब्याड राख्ने बेलामा उचित जग्गाको छनौट नगरिएमा र माटो सुहाउँदो बीउको छनौट नहुँदापनि धानबालीमा रोगका किराहरुको संक्रमण बढ्ने गरेको गुरुङको भनाइ छ ।
खासगरी धानमा रातो लाग्ने, पात डढ्ने, धानको बोट सुक्ने, बोटमा खैरा किरा लाग्ने धानको गाँज कुहिने जस्ता समस्या बारम्बार दोहोरिएको गुरुङले बताउनुभयो । धानको बोटमा रोगका किरा र संक्रमण देखिएमा बालीरोग विशेषज्ञहरुको परामर्श लिएर तत्काल उपचार गराइहाल्नुपर्ने उहाँको सुझाव छ ।
सामान्य रोगका किराहरु देखिएमा घरेलु उपचार पद्धति अपनाउन सकिन्छ । जस्तै किराको संक्रमण हटाउन पोटास पानीको प्रयोग, कपडा आदिको प्रयोग गरी टुकी बत्ति बाल्ने, निम असुरो आदिको प्रयोग गरेरपनि धानबालीमा लाग्ने रोगको प्राथमिक उपचार गर्न सकिने गुरुङले जानकारी दिनुभयो ।