आफ्नो स्वास्थ्य परिक्षण गरेर म मेदान्त हस्पिटल गुडगाउँ इन्डियाबाट फर्कँदै थिए । नेपाली सिमकार्ड चलेको थिएन । नेपाल प्रवेश गर्नासाथ फोनमा धेरै मिसकलका नोटिफिकेसन देखिए । त्यो मध्य एउटा मिसकल थियो अक्सफोर्ड कलेज गैँडाकोटका भाइस प्रिन्सिपल तथा ओभरअल कार्यक्रम संयोजक तिलकराम पन्थी सरको ।
मैले देख्नासाथ कलब्याक गरेँ । तिलक सर नमस्कार ,फोन गर्नुभएको रहेछ म इन्डिया गएको थिएँ, फोन लागेन, अहिले मिसकल देखेकोले फोन गरेको । उहाँले एउटै वाक्यमा भन्नु भयो, कृष्णहरि सर तपाई बिसिए तेश्रो सेमेस्टरबाट विद्यार्थीहरूलाई लिएर शैक्षिक भ्रमण जानु पर्यो ।
१२ गते पुनहिल जाने तयारी गर्नुहोला । हाम्रो यो वर्ष जुठो परेकोले दशैं र तिहारको टिका थिएन । श्रीमती मनरुपाको गोडामा दुइतीन महिना अघि देखिनै समस्या देखिएको थियो । पटकपटक सरकारी हस्पिटल, पुरानो मेडिकल कलेज सीएमएस र नारायणी सामुदायिक हस्पिटलमा भक्तमान श्रेष्ठसँग पनि देब्रे गोडाको पिडौलामा देखिएको सार्हो गिर्खा जस्तो भागलाई देखायौँ । दुई पटक MRI गरियो, CT Scan त कति कति । कसैले चित्तबुझ्दो डाइग्नोसिस् रिपोर्ट दिन नसकेपछि एकपटक मेदान्त हस्पिटल जाउँ भनेर २०८० असोज १ गते दिल्लीको वस चढेर २२ घण्टाको यात्रापछि दिल्ली र त्यसपछि १ घण्टाको ट्याक्सी चढेर गुडगाउँ गई ३ दिन बसेर हेल्थ चेकअप गरि त्यही बाटो पञ्जाब गएका थियौँ ।
पञ्जाबमा मनरुपाको फुपुका छोराछोरी र उहाँको सबै परिवार २० / २१ वर्ष देखि बस्दै आउनु भएको छ । सानै देखि उहाँहरूसँग सार्है घनिष्टता भएकोले पहिल्यै देखि पञ्जाब जाने इच्छा गर्दापनि जान पाएकी थिइनन् । त्यहाँ जाने साइत अहिले जुर्यो । असोज ५,४,६,७ पञ्जाव बसेर ८ गते पञ्जाबबाट बसको टिकट काटी नेपाल आउने भइयो । दिल्ली जाँदा सार्है आनन्ददायी यात्रा थियो । ठूलो AC डिलक्स बस । ठूलाठूला सिट, जति वेला पनि AC चलिरहने, धूवाँ धुलो कत्ति पनि नभएको ।
हामीले त्यही सोचेर पञ्चावबाट पनि बसको यात्रा तय गरियो तर यो बसमा त्यस्तो सजिलो भएन । बोर्डर सम्मको त्यही बस, त्यसपछि त्यही बसवाला साहुले अर्को बसको व्यवस्था गरेर बुटवल बसपार्क सम्म ल्याउने रहेछन् । त्यो पञ्जाबको बस नेपाल नआउने रहेछ तर पञ्जाबमा त्यो कुरा थाहै भएन । रामप्रसाद भिनाजु ( फुपुको छोरी ज्वाइँ ) ले गाडी व्यवस्थापन गर्नु भएको हामीले त्यति धेरै चासो पनि गरेका थिएनौँ । यात्रा लामो समयको भयो । बुटवलमा आएर फेरि अर्को गाडी खोज्यौँ ।
AC डिलक्स बस भनेर चढेको दशैंको पर्सिपल्ट प्यासेन्जर सोहोरिँदै हिड्न थाल्यो, न AC न नन स्टप । फेरि दुःख पाइयो । यात्रा गार्हो भयो । घर पुग्दा गोडा फुलेको, ज्यान दुखेकोले गर्दा बिरामी परे जस्तो पो भयो । तिलक सरलाई यो कुरा भनेँ ।
लगत्तै BCA Department HOD दिपेन्द्र सिलवाललाई फोन गरेँ । उहाँले पनि विद्यार्थीहरूलाई भ्रमण लानुपर्यो म्याग्दीको पुनहिल भन्ने कुरा गर्नुभयो । आज ९ गते हो । १२ गते अझै ३ दिन छ ठिक हुन्छ होला सर ! हजुर नै जानु पर्यो भन्नुभयो । पछि १२ गते नभई २० गते जाने तय भयो । कलेजमा विद्यार्थीहरूको सानो समूहसँग भेट भइरहन्थ्यो । विद्यार्थी टोलीको लिडर थिए खुशी लामिछाने र उनको भाइ सक्षम भण्डारी । उनीहरूलाई ट्रेकिङको रुट र होटल बुकिङको जिम्मा दिएर म कलेजबाट बाहिरिएँ र पुनहिलको यात्राको बारेमा गुगल, युट्युब अध्ययन गर्न थालेँ । १७ गते खुशी लामिछानेको फोन आयो सर हामीले रुट र होटल फिस्स गयौं । हजुरले तनाव नलिनु होला । सबै व्यवस्थापनको जिम्मेवारी उनीहरूलाई दिन पाउँदा मलाई तनावै रहेन ।
२०८० कार्तिक २० गतेलाई यात्राको मिति र रुट तय भयो । यात्राको नयाँ गन्तव्य सम्झँदा मन त्यसै त्यसै पुलकित हुने मान्छे म, अक्सर यात्राको क्रममा चञ्चल त हुन्छ नै, केही सिक्ने केही जान्ने, केही नयाँ देख्ने र भोग्ने उत्सुकताले नजानिदो गरि मनमा खुशीको तरङ्ग जगाइदिन्छ । घुम्नु भनेको फिरन्तेको जस्तै समय कटाउनु मात्रै होइन, त्यसले दिने अभूतपूर्व सन्तुष्टि पनि हो। यसर्थ घुमेर जीवनमा नयाँ अनुभव, ऊर्जा, उत्साह थप्न सकिने भएकोले बेलाबेलामा घुम्नु पनि जरूरी छ।
पहिलो दिन २०८० / ०७ / २०
बिहान ७ बजे हिड्ने भनिएपनि केके हो केके हिँड्दा ८ बजिहाल्यो । समय बिहानको ९ बजे मुग्लिङमा खाजा खान ओर्लियौँ । हामीसँगै नारायणगढदेखि पछ्याउँदै आएको नारायणी र त्रिशूलीले पश्चिम दिशाबाट आउँदै गरेको मर्स्याङ्दीसँग मुग्लिङमा जम्काभेट हुँदा हाम्रो साथ चटक्कै छोडेको थियो। मन र गाडीका रफ्तार उस्तै उस्तै थियो। गाडी धर्तीमा गुडिरहेको थियो। मन उडेर आकाश मार्ग हुँदै पुनहिल तर्फ दौडिरहेको थियो। मर्स्याङ्दीसँग मितेरी लगाएको हावाले मनैदेखि चञ्चलता प्रदान गरिरहेको थियो। दायाँबायाँका डाँडापाखा, खोला र हरियालीले हाम्रो यात्रालाई उस्तै रमणीय बनाइरहेको थियो। समय दिउसोको १ बजेको हुँदो हो पोखरामा होटल खोजेर खाना खान ओर्लियौँ। पोखरामा अलमल गर्नुपर्ने खासै कारण नभएकाले हामी खाना खाएपछि अघि बढिरह्यौँ।
बेलाबेलाका उमङ्गका उछालमा हाँसोसँगै आत्मीयता उसैगरी साटिएको थियो। कहिले खोलाको किनारैकिनार, कहिले पहाड काटेर बनाएको बीच बाटो त, कहिले नागबेली हुँदै , कहिले ठाउँ ठाउँका खाल्टाखुल्टीबाट निस्केको धुलोमा गुड्दै लुम्ले भन्ने स्थानमा पुगियो। समुद्र सतहदेखि १७४० मि उचाइमा रहेको यो ठाउँ नेपालको सबभन्दा बढी पानी पर्ने ठाउँ पनि हो । करिब २ घण्टाको रफ्तार पछि हामी हिँड्दै गरेको म्याग्दी जाने बाटोलाई बिदाई गर्दै नयाँ पुलबाट पुनहिल तर्फ मोडियौँ ।
कलेजको बसलाई नयाँ पुलमै छोडेर जिपको ब्यवस्था गरी उल्लेरी तर्फ अगाडि बढियो । बिरेठाँटी बाट घान्द्रुक र उल्लेरी जाने बाटो छुटिएको रहेछ। हाम्रो जिप नयाँ पुलबाट अगाडि बढ्दै थियो। पश्चिम नेपालको गण्डकी तथा धौलागिरि अञ्चलको उत्तरी क्षेत्रमा पर्ने नेपालको ठूलो संरक्षण क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र पनि नयाँ पुल कटेलगत्तै सुरुआत भएको त्यहाँ टाँसिएको बोर्ड देखेर हामीले थाहा पायौँ । सात हजार छ सय वर्ग कि. मी . मा फैलिएको यो क्षेत्र कास्की, लमजुङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लामा फैलिएको रहेछ ।
पहाडी कच्ची बाटो हुँदै जसोतसो बेलुका उल्लेरी पुगियो । भरतपुरबाट पोखरा ५ घण्टा, पोखराबाट नयाँपुल २ घन्टा बसको यात्रा र दुई घण्टा कच्ची बाटो जिप यात्रापछि त्यो रातको बसाइ उल्लेरी पूर्णिमा होटलमा भयो ।
दोस्रो दिन २०८० / ०७ / २१
चियाचमेना पछि गन्तव्यतर्फ पैदल यात्रा शुरु गरियो। उल्लेरी बाट घोरेपानी जम्मा ६ किमि रहेछ। उल्लेरी हुँदै पहिलो गन्तव्य वन ठाँटी, वन ठाँटी हुँदै यात्रा हुन्छ नाङ्गे ठाँटी । करिब चार घण्टा हिँडाइ पश्चात हामीहरू नाङ्गे ठाँटी भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ रहेको हङ्ग्रीआई रेष्टुरेन्टमा खाना खानका लागि विश्राम लियौँ । जब हामी माथिल्लो घोरेपानी पुग्यौँ, त्यतिबेला हामीलाई युद्ध जितेको आभास भयो। २८०० मिटरमा रहेको घोरेपानी पुग्न नाङ्गे ठाँटीबाट करिब दुई घण्टा जति ।
नाङ्गे ठाँटीबाट उकालो लागेपछि हामी त्यहाँको प्राकृतिकसँग असीमित रमायौँ । खोलाको कलकल पानी बगेको आवाज, चराचुरुङ्गीको चिरबिर आवाज, बाटोमा देखिएका झरनाहरू, तलमाथि गरिरहेका असङ्ख्य पर्यटकहरू र सामान ओसार्नका लागि त्यस क्षेत्रमा प्रयोग हुने खच्चरहरूसँगको जम्काभेट लगायतका धेरै कुराहरूले हाम्रो यात्रालाई रमाइलो गराइरहेको थियो। जब नदी, जङ्गल, झरना र समुद्रको सौन्दर्य जब देख्छु ,मलाई साक्षात् अप्सरा धरतीमा अवतरित भएझैँ लाग्छ ।
जब म जङ्गल माझ पुग्छु, विशाल झरना छेउ उभिन्छु, मलाई प्रकृतिको अद्भूत सुन्दरता पनि अप्सराको स्वरुप हो झैँ लाग्छ । नेपालमा पाइने विभिन्न प्रजातिका गुराँस मध्ये यहाँको जङ्गलमा मात्र ८ भन्दा बढी प्रजातिका गुराँस देख्न पाइने रहेछ । हामी भने गुराँस नफुल्ने समयमा गएकोले यसको सौन्दर्यबारे पनि विमुख रह्यौ । उल्लेरीको उकालो डरलाग्दो रहेछ । नाकै ठोकिने जस्तै। जब हामी माथिल्लो घोरेपानी पुग्यौँ, त्यतिबेला हामीलाई युद्ध जितेको आभास भयो। हामीले घोरेपानी बजारमा भएको नाईसभ्यू होटलमा त्यो रात बितायौँ।
तेस्रो दिन २०८० / ०७ / २२
बिहान साविक समयभन्दा अलि चाँडै नै उठियो । मनमा एउटा लक्ष्य बोकेर हिँडेपछि सधैं झैं पिरोल्ने निद्राले पनि कहिलेकाहीँ झकझकाउँदो रहेछ। बिहान पाँच बजे उठेर हामीले पुन हिलको यात्रा तय गर्यौं। केही विद्यार्थीहरू पहिल्यै गइसकेको हो । हिमाल त यही घोरेपानी लजबाटै देखिन्छ भनेर माथि उकालो पुनहिल गएनन् त कोही गार्हो छ भनेर गएनन् ।
हामी १२ / १३ जना माथि पुनहिल उकालो लागियो । घोरेपानीबाट पुन हिल १.५ किमि भएकाले विस्तारै हिँडेर १ घण्टामा पुगियो । बाह्य पर्यटकहरू अत्यधिक देखिन्थे। मोबाइलको टर्च लाइटको सहायताले जब हामी पुनहिल पुग्यौँ l आँखै अगाडि हिमश्रृखंला देखेर हामीलाई स्वर्गमा पुगेको आभास भयो । पहाडका चुचुराहरूले घेरिएको कुहिरो । यो एक अभुतपुर्व स्वर्गीय दृश्य थियो, नसोचेको स्वर्गीय आनन्द । जब सूर्यको किरणले पहाड छोयो, चम्किलो सुनको चुचुराहरू देखेझैँ हुन्थ्यो ।
दृश्य साँच्चै अचम्मको र रोचक थियो। धौलागिरि हिमाल, फिस्टेल माउन्ट र अन्नपूर्ण दक्षिण लगायतका हिमालयका मनोरम दृश्यहरू हामीले देख्यौँ । हिमालको शृङ्खला देखेपछि यात्राका सबै कष्ट बिर्सियौँ। हामीले पून हिलको टुप्पोमा तातो चिया पियौं र सूर्योदय र हिमाल दृश्यहरूको सुन्दर दृश्यहरू लियौँ। हामीले शिखरमा उनीहरूको सबैभन्दा सुन्दर क्षणहरू खिच्ने प्रयासमा राम्रो दुई घण्टा बितायौं। सामुन्द्रिक सतहबाट ३२१० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदयको आनन्दसँगै धौलागिरि, अन्नपूर्ण, गंगापूर्ण, लमजुङ, बाराशिखर, निलगिरी, टुकुचे चुचुरो, हिउँचुली र मनास्लु हिमाल लगायतका हिमशृङखला घामको झल्कोसँगै आँखै अघिल्तिर नाच्न लागे।
आँखै अगाडि हिमशृङ्खला देखिनु पुनहिलको महत्वपूर्ण विशेषता नै रहेछ। पुनहिलबाट देखिने सूर्योदय र हिमाली दृश्यले जो कोहीलाई न लोभ्याइ राख्न सक्दैन। भूपू मेजर स्वर्गीय टेकबहादुर पुनको योगदानको सम्झनामा यो पुन हिलको निर्माण गरिएको रहेछ। पुन हिल बसेर सूर्योदयको अलौकिक आनन्द लिने जो कसैको मुखबाट वाह ! शब्द फुत्किहाल्छ । आखिर नचिताएका कुरा देख्नु र सोचे भन्दा फरक दृष्टिको साक्षी बन्नु नै त यात्राको विशेषता हो । यस्तै अनौठा तथ्य र सोच्न वाध्य बनाउने घटनाहरुको साक्षी बान्ने अबसरले नै त यात्रालाई समृद्द र अविस्मरणीय बनाउंदो रहेछ ।”एउटा यात्रा गर्नु सयौँ पुस्तक पढ्नु बराबर हो” भन्ने भनाइ त्यसै प्रसिद्ध भएको होइन रहेछ भन्ने लाग्यो मलाई आज।
हिमालको सौन्दर्यमा लठ्ठ भएका बेला सौन्दर्यलाई बखान गर्ने सबै शब्दहरु फिकाफिका लाग्दा रहेछन् । सायद जब कल्पनाभन्दा माथिल्लो दृश्य आँखा सामुन्ने आइपुग्छ, त्यति बेला शाब्दिक वर्णन त्यसैत्यसै फिक्का बन्छ । दुनियाँलाई वशिभूत पार्दै आफ्नै धुनमा चम्किरहेको हिमाल देख्दा यसको सौन्दर्यको बखान गर्ने शब्द मसँग छैन भनेझैँ भयो ।
पुनहिलबाट सौन्दर्य हृदय भरि बोकेर होटेलमा फर्किएपछि म त्यो अद्भूत दृश्यको तस्बिरहरू फेसबुकमा सेयर गर्दै थिएँ । होटेलमा उपलब्ध इन्टरनेट सुविधा उपयोग गर्ने म मात्र एक्लो यात्रु होइन । सम्झिँदा पनि अचम्म लाग्छ, कुनैबेला यस्तो थियो, यात्राका क्रममा खिचिएका तस्विर खिचेपछि धुलाउन महिनौँ लाग्न सक्थ्यो । अधिरतायुक्त प्रतीक्षापछि बल्ल आफूले खिचेका तस्बिर हेर्न पाइन्थ्यो । तर अहिले के छ र ? आफू घुमेको ठाउँ एकैछिनमा संसारलाई देखाउन सकिन्छ ।
बिहानको खाजा पछि मनमोहक जङ्गल हुँदै घान्द्रुक तर्फ हिड्न थाल्यौँ । हिड्ने क्रममा ३ / ४ टोली हुने रहेछ । छिटो हिड्नेको एक टोली, ठिकै हिड्ने अर्को टोली, हिड्न नसक्नेको पछि छुट्टै टोली । म अभिभावलाई त पुच्छको हिड्न नसक्नेको टोलीसँग बस्नुपर्ने । यसो उकालो ८ / १० सीडी मात्र के हिँडिएको थियो एकजना विद्यार्थी तर सर म त जान सक्दिनँ भनेर हवाहवा डाँको छोडेर रुन थाल्छिन् । के गर्नु ? जसरी पनि जानु छ । धेरै मोटिभेसन गरेर, आत्मबल बढाउँदै उकालो चढाएँ । घोरेपानीबाट घान्द्रुक १४ किमि रहेछ । त्यहाँ पुग्नको लागि ७ / ८ घण्टा हिँड्नुपर्ने रहेछ । घोरेपानीदेखि पहिलो गन्तव्य टाँडापानी हुँदो रहेछ । टाँडापानी भन्ने ठाउँसम्म पुग्ने समयमा यस्ता उकालो र ओरालोहरू निकै धेरै आउँदा रहेछन् ।
८ बजे घोरेपानी छोडेका हामी करिब तीन बजे टाँडापानी भन्ने ठाउँमा पुग्यौँ । टाँडापानीमा चिया नास्ता गरेर हामी घान्द्रुक तर्फ लाग्यौँ । टाँडापानीबाट घान्द्रुक सम्मको बाटो तेस्रो र सजिलो भएको कारण केही सजिलो अनुभव भइरहेको थियो । तर दुइजना विद्यार्थी हिँड्नै सकेनन् । दुई पाइला हिँडेपछि फिटिक्कै नहिँड्ने । झमक्क रात परिहाल्यो । घना जङ्गल , गोरेटो बाटो, त्यही पनि राम्रोसँग देखिएको छैन, विद्यार्थीको अवस्था त्यही छ ।
मोबाइल टावर पनि छैन । अगाडि कतै वस्तीमा बत्ती बलेको पनि देखिँदैन । कतै बाटो फरक त परेन ? मलाई पनि चस्स लागेको थियो । तर हामी अलि चल्तीको जस्तो देखिने बाटो नछोडेकाले यकिनका साथ मन दह्रो बनाएँ । म नै दुविधामा परँ भने मसँगै यो ग्रुपमा भएका ९ जना विद्यार्थीको अवस्था के होला ? सबैले मोवाईलको बत्ति बाल्दै अगाडि बढ्यौं । १२ घण्टाको पैदाल यात्रा पछि घान्द्रुक पुगियो । घान्द्रुक पुग्दा लास्ट ग्रुपको धेरै ढिलो भईसकेको थियो । हिड्न सक्ने समुह उज्यालोमै अन्नपूर्ण होटल पुगीएका थिए । हामी पुग्दा राती ९ बजिसकेको थियो ।
खानपीन गर्दा १० बज्यो । १० बजे पछि त्यहाँ नाचगान हो–हल्ला गर्न प्रतिबन्ध रहेछ । एकछिन रमाइलो गफगाफ गरी सुतियो ।
चौथो दिन २०८० / ०७ / २३
हरेक घरको झ्यालको पर्दा खोल्नासाथ आँखामा ठोक्किने माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमशृङखला । गुजुमुज्ज परेको ढुङ्गेनी बस्ती । गुरुङ संस्कार संस्कृति । घान्द्रुकमा पर्यटकलाई लोभ्याउने विशेषता रहेछन् । बिहानै देखि विद्यार्थीहरू त्यहाँको सांस्कृतिक गुरुङको ड्रेस लगाएर फोटो खिच्न व्यस्त रहे । शिरमा शिरबन्दी, घाँटीमा मुगा माला, चोली, घलेक र लुङ्गीको सट्टा लेहेङ्गामा केटीहरू सजिएका छन् भने शिरमा टोपी, गलामा गलबन्दी, भाङ्ग्रा, इस्टकोट र कछाडमा ठाँटिएका केटाहरू तस्बिर र भिडियो कैद गर्दै रमाइरहेका छन् ।
आधुनिक पोशाकमा सजिएर घान्द्रुक उक्लिएका प्रायः आन्तरिक पर्यटकको चाहना हुन्छ गुरुङ पोशाक लगाउने र फोटो खिच्ने । सामाजिक सञ्जाल प्रयोगकर्ता तन्नेरी पुस्तालाई गुरुङ पोशाकले बेस्सरी तानेको छ । आधा घण्टा गुरुङ पोशाक लगाएको २०० रुपैयाँ तिर्नुपर्ने रहेछ । खाजा खाइवरी ११ बजे बसपार्क तर्फ लागियो घान्द्रुकबाट नयाँपुल जानको लागि । जिप पाइन्छ कि भनेर निकै प्रयास गरियो । यो सिजन हो जिपहरू सबै रिजर्भ छन् सम्भव छैन । बसपार्क जानुस् रुटको वस पाइन्छ भन्ने खवर अनुसार बसपार्क तर्फ सबैजना अगाडि बढियो । सीमित बस, सिजनको बेला बसको पनि अभाव रहेछ । उभ्भिएरै नयाँपुलसम्म यात्रा गरियो । नयाँपुलमा हाम्रो कलेजको वस थियो ।
त्यसैमा पोखरा तर्फ अगाडि बढियो । ५ बजे पोखरा ओल्ड दरवार होटल लेकसाइड पुगेर केहीबेर विश्रामपछि खाना खाइयो । सबैजना फेवातालको किनारमा विभिन्न खेलहरू खेलेर ८ बजे होटलमा गइ बार्बिक्युको स्वादसँगै रमाइलो गरियो ।
पाचौँ दिन २०८० / ०७ / २४
खासमा आज बिहानै देखि पोखरा घुम्ने योजना थियो । फेवाताल हेर्ने, डुङ्गा शयर गर्ने र तालबीचमा तालबाराही मन्दिरमा जाने, फेवाताल किनारमा रहेको रानीवन हिँडेर शान्ति स्तुपासम्म पुग्ने योजना थियो । स्तुपा लेकसाइडबाट ६ किलोमिटर टाढा पर्छ । जापानी शैलीमा निर्मित स्तुपामा बौद्ध धर्मावलम्बीसँगै आन्तरिक र बाह्य पर्यटक पुग्छन् । लेकसाइडदेखि साढे १० किलोमिटर दूरीमा रहेको पुम्दीकोटमा नयाँ बनेको भगवान शिवको ५१ फिट अग्लो महादेव मूर्ति छ त्यो हेर्ने योजना थियो ।
पुम्दीकोट धार्मिक हिसाबले मात्रै होइन, प्राकृतिक दृश्यावलोकनका लागि पनि उत्कृष्ट गन्तव्य हो । महेन्द्र गुफा, डेविडफल ( पाताले छाँगो ) जुन लेकसाइडबाट तीन किलोमिटर टाढा पर्छ र अन्य धेरै ठाउँहरू गुप्तेश्वर, चमेरे र महेन्द्र गुफा घुमेर दिउँसो ३ बजेतिर फर्कने योजना थियो । तर बसको ड्राइभर सुवास भाइको परिवारमा मानिसको मृत्यु भएको खबर आएकोले तुरुन्तै फर्कन पर्ने भयो। त्यसैले त भनिएको होला, जीवनमा सधैँ आफूले सोचे जस्तो, आफूले योजना बनाए जस्तो कहाँ हुन्छ र ! धन्न हिजै लेकसाइड तिर घुमियो । आज उठेर खाजा खाइवरी घरतर्फ प्रस्थान गरियो ।
लेखक : पौडेल अक्सफोर्ड कलेज गैँडाकोटका प्राध्यापक हुनुहुन्छ ।