चितवन मेडिकल कलेज (सिएमसी)मा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. शान्ति भण्डारीले चेतनाको कमीका कारण अधिकांश महिलाहरुमा पाठेघरको समस्या देखिएको बताउनुभएको छ ।
पारदर्शी अनलाइनसंग कुराकानी गर्नुहुँदै स्त्रीरोग विशेषज्ञ डा. भण्डारीले अनियमित महिनावारी र गर्भावस्थामा हुने हेलचक्राईका कारण यस्तो समस्या बढ्ने गरेको बताउनुभएको हो ।
पाठेघरमा विशेष गरेर दुईवटा भाग हुन्छन् । एउटा मुख र अर्को मुख्य पाठेघर हो । पाठेघरको मुखमा समस्या भएमा सेतो गन्धसहितको पानी बग्ने, रगत मिसिएको पानी जाने जस्ता समस्या देखिने उहाँको भनाइ छ ।
यसैगरी मुख्य पाठेघरमा समस्या हुँदा महिनावारीमा अनियमितता हुन्छ । महिनावारी भएको लामो समयसम्म रगत जाने, पेटमा गाँठो जस्तो देखिने पाठेघर सुन्निने अत्यधिक पेट दुख्ने जस्ता लक्षण देखिने डा. भण्डारीले जानकारी दिनुभयो ।
कतिपय रोगहरु महिलालाई बाहेक पुरुषलाई नलाग्ने एक अध्यनले समेत देखाएको छ । प्रजनन् अंगदेखि शारीरिक बनावटले ती समस्या महिलामा देखिने गरेको हो । प्रजनन् अङ्गमा देखिएका समस्याको समयमै उपचार नगराउदा पछि गएर जटिल समस्या बन्ने गरेको डा. भण्डारीले बताउनुभयो ।
बिकट तथा ग्रामीण क्षेत्रका महिलाहरुमा बढी रोगलाई लुकाएर राख्ने प्रवृत्ति रहेको छ । खानपान तथा जीवनशैली आदिका कारण समेत महिनावारी र पाठेघरको समस्या देखिने गर्दछ ।
जिल्लामा अस्पतालहरुमा ओपिडीमा आउने कुल बिरामीमध्ये ५० देखि ६० प्रतिशत अनियमित महिनावारी र पाठेघरको समस्याका बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो ।
महिनावारी चक्र व्यक्ति अनुसार २१ देखि ३५ दिन भित्रको नियमित महिनावारीलाई राम्रो मानिन्छ । तर विभिन्न कारण महिलामा यो चक्रमा गडबडी भइ २१ दिनभन्दा अघि र ३५ दिनभन्दा बढी ढिला गरी महिनावारी हुने समस्यापनि देखिने गर्छ ।
रगत धेरै वा थोरै बग्ने, महिनावारी नै नहुने जस्ता समस्या पनि हुन सक्छ। यो समस्यालाई महिनावारी गडबडी अर्थात् अनियमित महिनावारी भन्ने गरिएको स्त्रीरोग विशेषज्ञ डा. शान्ति भण्डारीले जानकारी दिनुभयो ।