ईश्वरी प्रसाद कंडेल शैक्षिक व्यक्तित्व तथा राजनीतिज्ञका रूपमा चिनुनुहुन्छ । बुवा भानुभक्त कंडेल र आमा लक्ष्मीकुमारीको कोखबाट वि.स. २०१४ साल साउन १४ गते बागलुङमा उहाँको जन्म भएको हो । सन्तानमा कान्छा छोराको रूपमा रहनुभएका कंडेल सानै उमेरदेखि जिज्ञासु र पढाईमा समेत मेहनती हुनुहुन्थ्यो । उहाँले बिए सम्मको अध्ययन गर्नुभएको छ । अर्थशास्त्र र नेपाली उहाँका मेजर विषय हुन् । ५ कक्षा पढ्दापढ्दै कंडेल नेपाली कांग्रेसमा भुमिगत राजनीति गर्नुभयो । उनै कंडेलको राजनीतिक र शैक्षिक विषयमा हामीले तयार पारेको संवाद
यहाँलाई हार्दिक स्वागत छ, पारदर्शी अनलाइन डटकममा ?
धन्यवाद !
आराम हुनुहुन्छ ?
आराम छु ।
के काममा व्यस्त हुनुहुन्छ आजकल ?
म विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छु । पूर्व शिक्षक भएकालेपनि विभिन्न स्कुलहरुको कार्यक्रममा समेत सहभागीताका लागि निमन्त्रणा आउने हुँदा त्यहाँपनि जाने गर्छु । यसरी नै मेरा दिनचर्या भइरहेका छन् ।
शिक्षण पेशा नै आखिर यहाँले किन रोज्नुभयो ?
अजित जि ! शिक्षण पेशा भनेको ज्ञानको ज्योति हो । समाज रुपान्तरणका लागि शिक्षाको एकदम महत्त्वपूर्ण भूमिका छ । अन्धाकाररुपी संसारलाई बदल्न शिक्षा नै चाहिन्छ । म एक त न्यून बर्गको मान्छे मेरो वुवाआमाको सपनापनि पूरा गर्नु थियो । बुवाआमा पढेर जागीर खाओस् मेरो छोराले भन्ने उहाँहरुको मनमा थियो । मेरोपनि पढेर शिक्षक नै बन्ने ठूलो धोको थियो । त्यसैअनुरुप म यो पेशामा लागें ।
शिक्षक बन्न त्यो बेला कत्तिको सहज थियो ?
अजित जि ! शिक्षक बन्न अत्यन्त गाह्रो थियो । अहिलेका जस्ता यतिधेरै कलेज, स्कुलहरु त्यो बेला थिएन । पढ्नको लागि घण्टाैंसम्म पैदल हिडेर जानुपर्थ्यो । त्यतिमात्र नभई घरको सबै काम हेर्नुपर्थ्यो । वरपर अर्म पर्म मेलापात बिदाको समयमा गर्नै पर्थ्यो । धेरथोर पढाई खर्च जुटाउन नसक्दा गाह्रो हुन्थ्यो । सायद ति दिन सम्झदा अहिले गहभरी आँसु हुन्छन् ।
यहाँले कतिसम्मको अध्ययन गर्नुभयो ?
मैले नेपाली र अर्थशास्त्रमा बिएसम्मको अध्ययन गरेको छु ।
यहाँको जागीरे जीवन कस्तो रह्यो ?
मेरो जागीरे जीवन संतोषजनक नै रह्यो । वि.स. २०३५ सालमा तत्कालीन भरतपुर नगरपालिकामा जागिर खाए । त्यो बेला सुरुवाती जागीर मैले खरदारबाट नै खाएको हुँ । नारायणी र गाउँ पञ्चायत भन्ने थियो । नगर पञ्चायत भरतपुर र नारायणगढ पञ्चायत हुँदै आखिर अन्तमा आएर भरतपुर पञ्चायत भयो । म लगायत त्यतिबेला १७ जना भरतपुर नगर पञ्चायतमा जागीर खान्थ्यौं । म त्यसबखत खरदार भएर काम गरें । ३५ सालको मेरो जागीरे नियुक्ति हो । त्यसपछि म शिक्षण पेशामा जोडिए ।
कहाँकहाँ अध्यापन गराउनु भयो ?
मैले लंकु स्कुल लक्ष्मी माविमा पढाए त्यसपछि भरतपुर मावि वीरेन्द्र कलेज र भरतपुर माविमा पढाए ।
तपाईंको राजनीति यात्रा कसरी सुरु भयो ?
मेरो राजनीति यात्रा ५ कक्षा पढ्दापढ्दा सुरु भयो । मेरो दाजु बनारसमा पढेर आउनुभएको थियो । त्यसबखत उहाँ घर आउदा एउटा पुस्तक लिएर आउनुभएको थियो । त्यस पुस्तकमा ढाडे बिरालो भन्ने कथा रहेछ । त्यहाँ धानको भकारीमा कहिलेसम्म बसिरहन्छस् ? र कुडेको दुध कहिलेसम्म खान्छस् भन्ने रछ यसै कथाबाट प्रभावित भएपछि सामन्तीका विरुद्ध लड्नुपर्छ भन्ने सोच मलाई आयो । त्यसपछि म शिक्षण पेशासंगै भुमिगत राजनीतिमा लागें । २८ सालमा रामराजा प्रसाद सिंहको कार्यक्रम हुँदा ढुङ्गामुढा भएपछि ३०/३२ सालतिर नेपाली कांग्रेसको भुमिगत अध्यक्ष भए । त्यसपछि ३४ सालमा नेपाली कांग्रेसको सदस्यता लिए । राजनीतिमा पार्टीको क्षत्रिय सदस्यसम्म भए । बिस्तारै जागीरमा समेत आबद्ध भए । ३५ सालमा नेता गणेशमान सिंहसंग भेट भयो । त्यसपछि उहाँकै निर्देशनमा विभिन्न ठाउँमा पार्टीकै कामले संगठन बिस्तारमा जाने अबसर मिल्यो ।
नेता गणेशमान कस्तो हुनुहुन्थ्यो ?
उहाँ असाध्यै शालीन, मृदुभाषी, अग्लो कदको कालो बर्ण भएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँलाई देख्दा मलाईपनि राजनीतिप्रति उप्साह जाग्यो । त्यसैले सायद मलाई राजनीतिमा झनै ठूलो प्रेरणा र जोडिने अबसर मिल्यो । मलाई अझै याद छ, ति हिजोका दिनमा अनेकौं संघर्ष गरियो । राजनीतिकै कारण शरीर कुखुरीको धारमा राखेर भुमिगत राजनीति गरें । पञ्चायती व्यवस्थाका विरुद्धमा बोल्न त्यो बेला गाह्रो थियो । तरपनि त्यसका विरुद्ध डटेर लागें । ३६ सालमा जनमत संग्रह भयो । बहुदल कम्युनिष्ट र कांग्रेस थियो । राजा वीरेन्द्रले सुधारीएको पञ्चायती व्यवस्था चाहन्छौं कि बहुदल भन्ने हुकुम बक्सिएपछि आम नागरिकको चाहना अनुरुप देशमा बहुदलीय शासन लागु भएको हो ।
अन्त्यमा केही भन्नु छ ?
म एउटा नागरिक जो पूूर्व शिक्षक यो संग राजनीति र मेरो समाजसेवा आदिलाई समेटेर यहाँले जीवनी प्रकाशन गर्न लाग्नुभएकोमा धन्यवाद ! भनिन्छ, जीवन बलवान् हुन्छ । जीवनलाई बेलैमा चिनेनौं भने दुख पाइन्छ । त्यो हिसाबले यहाँले धेरै कुरा मलाई सोधिसक्नुभएको छ । म एउटा शिक्षक र राजनीतिकर्मी भएको नाताले यि दुबै क्षेत्र शिक्षा र राजनीति भित्र सुधार हुन आबश्यक देखिन्छ ।
हाम्रो प्रश्नमा आफ्नो बिचार राखिदिनु भएकोमा यहाँलाई धन्यवाद !
हस् यहाँलाईपनि धन्यवाद ! चितवनकै लोकप्रिय पारदर्शी अनलाइन डटकममा म जस्ता पूूर्व शिक्षक तथा राजनीतिज्ञ व्यक्तिलाई अनुभव शेयर गर्न अबसर दिनुभएकोमा फेरि पुनः यहाँलाई धन्यवाद !