आउँदो पौष २६ गतेदेखि माघ ८ गतेसम्म संचालन हुन लागेको रत्ननगर महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने भएकाे छ ।
“रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ रत्ननगर उद्योग वाणिज्य संघ चितवनको आयोजनामा महोत्सव हुन लागेको आज (शुक्रबार) साैराहामा आयाेजित पत्रकार सम्मेलनमार्फत जनाइएको हाे ।
बिगत दुई दशकदेखि प्रत्येक २/२ बर्षमा आयोजना हुँदै आएको रत्ननगर महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृती सहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरि ४५० वटा स्टलहरु राखिने महोत्सव आयोजक समितिका संयोजक शंकर गिरीले जानकारी दिनुभयो ।
महोत्सव परिसरमा बृहत व्यवसायिक कृषि प्रदर्शनी तथा मकैबाली विशेषमा मकैका नयाँ प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री र मह लगायतका पशुजन्य व्यवसायलाई विशेष जोड दिने गिरीको भनाइ छ । यस पटकको महोत्सवमा ३ लाख भन्दा बढी दर्शकहरुले अबलोकन गर्ने र करीब २५ करोड भन्दा बढीको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ ।
#PRD800913