आदरणीय शिक्षक साथीहरू, शिक्षण पेशा रोज्नु भनेको राष्ट्रनिर्माणका लागि आफ्नो जीवन समर्पण गर्नु हो। तपाईंहरूले हजारौं बालबालिकाको भविष्य निर्माण गर्दै आउनुभएको छ, तर आज त्यो उज्यालो मन्द हुँदै गएको छ।
यसको मुख्य कारण हो – राजनीतिक दलहरूको अनैतिक खेल, जसले कहिले तपाईंहरूलाई कार्यकर्ता बनायो, कहिले आतङ्ककारीको संज्ञा दियो।
२०८२ सालको नयाँ शैक्षिक सत्र एउटा उत्सवको रूपमा सुरु हुनुपर्ने थियो, तर आज विद्यालयहरू सुनसान छन्। विद्यार्थीको हाँसो हराएको छ, शिक्षकको अनुहारमा पीडा छ र शिक्षालयहरूमा सन्नाटा छाएको छ। यसको मूल कारण छ – सरकारको उदासीनता, गैरजिम्मेवारी र शिक्षाप्रतिको उपेक्षा।
देशभर भर्ना प्रक्रिया ठप्प छ, SEE उत्तरपुस्तिका मूल्याङ्कन रोकिएको छ, कक्षा १२ को परीक्षा अन्योलमा छ। शिक्षा प्रणाली पूर्ण रूपमा सङ्कटमा परेको छ। हामीले विगतमा तीनवटा सरकारसँग तीनवटा सहमति गर्यौं —२०७५ मा ३० बुँदे, २०७८ मा ५१ बुँदे, र २०८० मा ६ बुँदे। तर ती सहमतिहरू आज बालुवामा पानी सावित भए। कार्यान्वयनको सट्टा, शिक्षकमाथि राजनीतिक चरित्र हत्या गरियो। संसद्मा शिक्षकलाई ‘आफ्नो मान्छे’ भनेर गन्ने, आन्दोलन गर्दा ‘मिलिहाल्छन्’ भनेर हल्का रूपमा हेर्ने र प्रधानमन्त्री स्वयंले “आआफ्ना दलका शिक्षकलाई मनाऊँ” भन्ने अभिव्यक्ति दिनु —यी सबै शिक्षकको पेसागत गरिमा र स्वतन्त्रतामाथिको गम्भीर अपमान हुन्। “हाम्रै हुन्”, “मिलिहाल्छन्” भन्ने सोच शिक्षालाई सस्तो राजनीतिक सौदाबाजीको विषय बनाउने मानसिकताको उपज हो।
अब आत्ममूल्याङ्कन गर्ने बेला आएको छ — हामी शिक्षक हौं कि राजनीतिक कार्यकर्ता? हाम्रो आन्दोलन स्वतन्त्र छ कि कुनै दलको रणनीतिक औजार? दलको झोला बोक्नु हाम्रो धर्म हो कि राष्ट्रको भविष्य निर्माण गर्नु? हिजो हामीलाई सभा भराउन प्रयोग गरियो, आज आवाज उठाउँदा आतङ्ककारी भनिन्छ। अब पनि मौन बस्ने? अझै दलको झोला बोकिरहने?
अब निर्णय लिऊँ — राजनीतिक दलको सदस्यता परित्याग गरौं , दलीय परिचयपत्र च्यातौँ, दलीय शृङ्खला तोडौँ र स्वतन्त्र शिक्षकको परिचय अपनाऔं — शिक्षाका लागि समर्पित, राष्ट्रका लागि प्रतिबद्ध भएर। राजनीतिक चेतना हुनु सकारात्मक कुरा हो, तर दलीय अनुशासनमा बाँधिनु शिक्षाको आत्माविरुद्धको विद्रोह हो।
अन्त्यमा, सत्ता फेरियो तर सोच फेरिएन। अब सोच फेरौं, परिचय फेरौं, बाटो फेरौं। हामी राजनीतिक होइन, नैतिक शिक्षक बन्ने संकल्प गरौं। यो मौन बस्ने समय होइन—यो उठ्ने, बोल्ने र बदल्ने समय हो। अब पनि नबोल्ने? अझै पनि दलको झोला बोकिरहने? बोल्नुस्—शिक्षाका लागि। उभिनुस्—राष्ट्रका लागि। अगाडि बढ्नुस्—आफ्नो स्वाभिमानका लागि।
धन्यवाद !
कृष्णहरि पौडेल
उपप्रमुख, शिक्षा विभाग
राष्ट्रिय स्वतन्त्र पार्टी