चितवनको दक्षिणी भूभागमा रहेको माडी नगरपालिका आजभोलि केवल उपत्यका भित्र फैलिएको भुगोलको परिधी मात्र होइन, सम्भावना, चुनौती र परिवर्तनको बहससँग जोडिएको एउटा जीवन्त परिदृष्य बन्दै गएको छ।
२१८.२४ वर्ग किलोमिटरमा फैलिएको यो शान्त उपत्यका चुरे–पहाडी वनले घेरेर दिएको प्राकृतिक संरक्षणसँगै आर्थिक, कृषि, पर्यटन र सामाजिक रूपान्तरणको उब्जाउ भूमिमा बिस्तारै उभिँदै छ ।
२०७१ सालमा चार गाउँ विकास समितिहरू एकीकृत भएर बनेको यो नगर अहिले ३८ हजारभन्दा बढी जनसंख्याको साझा बस्ती हो। साक्षरताले डिस्टिङ्गसन प्वाईन्ट चुम्दै गर्न खोज्नुको तथ्य केवल शिक्षा प्राप्तिको सूचक मात्र होइन यहाँको सामाजिक चेतना उक्लँदै गएको प्रमाण पनि हो ।
१. कृषि–आधारित बलियो आर्थिक सम्भावना
माडीको अर्थतन्त्रको मेरुदण्ड कृषि हो। पहाडबाट बगेर आएको दोमट र उर्वर माटो, प्रशस्त जलस्रोत र उष्ण–आर्द मौसमले यहाँका किसानलाई विविध खेतीका लागि उपयुक्त वातावरण प्रदान गरेको छ। धान, मकै, गहुँ, तोरी सहित तरकारी तथा फलफूल खेतीका साथै सम्भावनायुक्त ब्यबसायिक आधुनिक कृषि—जस्तै ग्रीनहाउस, पशुपालन, बाख्रापालन, माछापालन, कुखुरापालन र मौरीपालन—माडीका नयाँ आयका स्रोत बन्न सक्ने स्पष्ट आधारहरू देखिन्छन् ।
२. संस्कृति र पर्यटनको विशाल सम्भावना
माडी प्राकृतिक सुन्दरताले भरिपूर्ण उपत्यका हो। चुरे–पहाड, नदी, जंगली दृश्य, वन्यजन्तु र शान्त ग्रामिण जीवनशैलीले यसलाई ग्रामीण-इको–पर्यटन विकासका लागि आदर्श क्षेत्र बनाएको छ। स्थानीय कथन अनुसार पौराणिक पात्रहरूको निर्वासनकालीन निवासस्थानका कथाहरू यहाँका सांस्कृतिक विशेषता हुन्। यदि व्यवस्थित प्रचार, होमस्टे विस्तार, पदमार्ग विकास र स्थानीय उत्पादन–पर्यटन एकीकृत कार्यक्रम सञ्चालन गरिए—माडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरमा आकर्षक गन्तव्य बनाउन सकिन्छ ।
३. पूर्वाधार र विकास–गतिले सिर्जना गरेको अवसर
सरकार र स्थानीय तहले बढाएको विकासगतिले माडीका सम्भावनालाई अझ मजबूत बनाएको छ। सडक विस्तार र सुधारले बजार पहुँच, व्यापारिक गतिविधि र सेवामा पहुँच विस्तार गरेको छ। शिक्षा र स्वास्थ्यको गुणस्तर बिकासको गतिमा देखिन्छन भन्ने कुरा प्रदेशस्तरीय मूल्यांकनमा माडीको स्वास्थ्य सेवा दोस्रो उत्कृष्ट स्थानमा परेको तथ्यले सेवा विस्तारको सकारात्मक चित्र प्रस्तुत गर्छ। भने पछिल्लो समय सूचना र प्रविधिको क्षेत्रले समेत बिकासको गतिलाई समातेको पाइन्छ । जोखिमयुक्त क्षेत्रका नदी तटबन्ध निर्माण तथा संरक्षणले कृषियोग्य जमिन र बस्तीलाई सुरक्षित बनाएको छ—जसले कृषि, आवास र लगानीलाई प्रेरणा दिएको छ। यस्तै, कृषि, स्वास्थ्य र इञ्जिनियरिङमा प्राविधिक तालिम प्रदान गर्दै स्थानीय युवा शक्ति उत्पादन-मुखी रोजगारतर्फ आकर्षित भइ आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका छन्।
४. राजनीतिक-सामाजिक बिकासको अवसर:
माडी उपत्यका बिभिन्न जात-जाति, धर्म, बर्ण संगै सास्कृतिक बिबिधतामा धनि भैकन पनि सास्कृतिक एकताका हिसाबले उदाहरणीय क्षेत्र हो | सामाजिक सास्कृतिक रुपान्तरणको गतिलाई देसकै अब्बल उदाहरणको रुपमा लिन सकिन्छ | बामपन्थीहरुको उर्बर थलोको रुपमा मानिने माडी उपत्यकाले धेरै बामपन्थी नेताहरु उत्पादन गरि देसकै परिबर्तनको आन्दोलनमा उत्कृस्ट योगदान दिएको छ ।
५. चुनौतीसँगै सन्तुलित विकासको आवश्यकता
यसैबीच, पूर्वाधारको समान विस्तार, गुणस्तरीय स्वास्थ्य, उच्च शिक्षामा पहुँच, भूगोल सुहाउदा उद्योग–व्यापार विस्तार र वातावरण संरक्षण माडीका चुनौतीका क्षेत्र हुन् भने निकुन्ज ऐनसंग जोडिएको निकासको आन्दोलन अन्य बिकासको आन्दोलन भन्दा अझ बढी चुनौती पूर्ण छ । चुरे क्षेत्रको संरक्षण, बाढी–पहिरो जोखिम न्यूनीकरण तथा योजनाबद्ध शहरीकरण अनिवार्य छन्। विकास र प्राकृतिक सन्तुलनको समन्वय कायम राख्दै जल, जमिन र जंगलको अधिकारको कानुनि लडाई जित्न सके—माडीले आफ्नो सम्भावनालाई दिगो विकासको बाटोमा आफुलाई सजिलै डोर्याउन सक्छ।
निष्कर्षमा भन्ने हो भने माडी नगरपालिका अहिले आधार निर्माणको चरणमा छ—शिक्षा, पूर्वाधार, कृषि, पर्यटन र प्राविधिक क्षेत्रमा देखिएका ठोस सुधारहरूले यसको भबिस्य उज्यालो देखिन्छ। उर्वर जमिन, जैविक विविधता, सांस्कृतिक धरोहर, पर्यटनयोग्य भू–दृश्य र सक्षम मानव स्रोत—यी सबैले माडीलाई ‘सम्भावनाको जगमा मजबुत रूपमा उभिएको नगर’ बनाएका छन्। योजनाबद्ध निवेश, दिगो वातावरण व्यवस्थापन र सामाजिक–आर्थिक सन्तुलन कायम गर्न सकिने हो भने माडी निकट भविष्यमै चितवनकै होइन, देशकै उत्कृष्ट विकसित उपत्यकाका रूपमा उभिन सक्छ। मात्र खाचो छ भने यी सबै कुराको जगमा उभिएर पपुलिज्मको भोक नराखी काम गर्ने समर्पण सहितको नेतृत्वको खाचो छ ।
– नारायण पाैडेल, प्राध्यापक, माडी क्याम्पस, चितवन





