नेपाली वाम आन्दोलन कुनै साधारण राजनीतिक प्रवृत्ति मात्र होइन; यो आन्दोलन राज्य पुनर्संरचना, सामाजिक न्याय र जनसशक्तीकरण सँग गाँसिएको ऐतिहासिक यात्रा हो। यही आन्दोलनको मूलधारमा रहेको नेकपा (एमाले) आज गम्भीर प्रतिनिधि छनौट विवाद, आन्तरिक शक्ति–संघर्ष र नेतृत्व–केन्द्रित राजनीतिका कारण आलोचनाको केन्द्रमा छ।
तर यस्ता संकटहरू स्वभावतः पार्टी र आन्दोलनको अन्त्य होइनन्; ती आत्मसमीक्षा र पुनर्संरचनाको अवसर समेत हुन सक्छन्। नेपाली वाम आन्दोलनको भविष्य बुझ्न एमालेभित्रको वर्तमान बहसलाई दीर्घकालीन वैचारिक सन्दर्भमा राखेर हेर्नु अपरिहार्य छ किनकी कसैले स्विकारे पनि नस्विकारे पनि नेपाली कम्युनिस्ट आन्दोलनको मुल जरो र मेरुदण्ड नेकपा एमाले नै हो ।
प्रतिनिधि छनौट संकट : विखण्डन होइन, पुनर्सन्तुलनको चुनौती
वाम आन्दोलनको आधार नै वर्गीय, क्षेत्रीय र सामाजिक प्रतिनिधित्व हो। एमालेमा देखिएको प्रतिनिधि छनौट विवादले यो आधार कमजोर भएको आभास दिएको छ। तथापि, यसलाई वाम आन्दोलनको असफलता भन्दा पनि पुरानो नेतृत्व संरचना र नयाँ सामाजिक यथार्थबीचको द्वन्द्व को रूपमा बुझिनुपर्छ।
नयाँ पुस्ता, शहरी श्रमिक, शिक्षित बेरोजगार र डिजिटल समाजको उदयले वाम आन्दोलनलाई नवीन ढाँचामा पुनःपरिभाषित गर्न बाध्य पारेको छ। यदि एमाले र सम्पूर्ण वाम शक्तिले यो परिवर्तन आत्मसात् गरे भने, एमालेको प्रतिनिधि छनौट संकट नै वैचारिक नवीकरणको उत्प्रेरक बन्न सक्छ।
आन्तरिक झगडा र बहस : सङ्कटभित्र सम्भावना
आन्तरिक संघर्ष वाम आन्दोलनका लागि नयाँ होइनन्। इतिहासले देखाउँछ कि विचारका टकरावबाटै वाम आन्दोलन परिष्कृत हुँदै आएको छ। यसै यथार्थता बिच एमालेको आजको समस्या विचारभन्दा पद–केन्द्रित देखिए पनि, यही असन्तुष्टिले नीति, संगठन र नेतृत्वप्रति गम्भीर बहस जन्माएको छ। यो बहसलाई दबाउने होइन, संस्थागत छलफलको बिषय बनाउने हो भने एमाले मात्र होइन, सम्पूर्ण वाम आन्दोलन नयाँ वैचारिक स्पष्टतासहित पुनर्जीवित हुन सक्छन ।
शक्तिको राजनीति र संगठनात्मक सुधार
वाम आन्दोलनको मूल आत्मा सामूहिक निर्णय र संगठनवाद हो। एमालेमा देखिएको शक्ति–केन्द्रिकरणले यस आत्मालाई चुनौती दिएको सत्य हो। तर यही चुनौतीले संगठनभित्र नेतृत्व विकेन्द्रीकरण, आन्तरिक लोकतन्त्र र वैचारिक प्रशिक्षण को माग बलियो बनाएको छ। सकारात्मक रूपमा हेर्दा, यो अवस्था वाम आन्दोलनलाई व्यक्तिवादी राजनीतिबाट निकालेर संस्थागत संस्कारतर्फ फर्काउने अवसर पनि हो।
वाम आन्दोलनको भविष्य : संकटपछिको पुनर्जागरण
नेपालको सामाजिक–आर्थिक संरचनामा अझै पनि वर्गीय असमानता, श्रम अवमूल्यन, क्षेत्रीय विभेद, युवा पलायन जस्ता गम्भीर मुद्दाहरू विद्यमान छन्। यिनको समाधानका लागि वाम वैकल्पिक राजनीति आज पनि उत्तिकै सान्दर्भिक छ। एमाले कमजोर हुनु वा आलोचनामा पर्नु भनेको स्व्यम एमाले वा वाम आन्दोलन समाप्त हुनु होइन; बरु यो पुनःपरिभाषा र पुनर्संरचनाको ऐतिहासिक मोड हो। यदि वाम शक्तिहरूले पुरानो गुटीय राजनीतिभन्दा माथि उठेर साझा न्यूनतम कार्यक्रम र विचार निर्माण गर्न सके भने वाम आन्दोलन फेरि समाज परिवर्तनको केन्द्रीय शक्ति बन्न सक्छ।
निस्कर्श मा भन्ने हो भने आजको एमाले संकटले देखाएको सबैभन्दा सकारात्मक पक्ष भनेको—नेपाली वाम आन्दोलन अझै बहस, आत्मसमीक्षा र रूपान्तरणमा सक्षम छ। प्रतिनिधि छनौट विवाद, आन्तरिक झगडा र शक्तिको राजनीति अन्ततः एमाले र वाम आन्दोलनलाई कमजोर पारिरहेका मात्र होइनन, पुनर्गठन र वैचारिक परिष्करणको दबाब सिर्जना गरिरहेका छन्। यदि यस दबाबलाई सकारात्मक दिशामा रूपान्तरण गरियो भने एमाले मात्र होइन, सम्पूर्ण नेपाली वाम आन्दोलन भविष्यमा लोकतान्त्रिक, समावेशी र समाज–परिवर्तनमुखी शक्तिका रूपमा पुनःउत्थान गर्न सक्ने आधार सजिलै तयार हुँदैछ ।
लेखक : नारायण पाैडेल
प्राध्यापक, माडी क्याम्पस, चितवन






