राजनीतिक क्षेत्रमा जब पदको मोह, सत्ता लिप्सा र परिवारवादको जरा गहिरिँदै गइरहेको थियो ।
त्यही समय आएका दुई साहसी र ऐतिहासिक निर्णयहरूले नेपाली राजनीतिलाई नैतिकता, पारदर्शिता र उत्तरदायित्वको नयाँ धरातलमा उभ्याउने मार्गप्रशस्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले “एक व्यक्ति, एक पद” भन्ने लोकतान्त्रिक आदर्शलाई व्यवहारमा उतार्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गर्नु केवल व्यक्तिगत संवेदनशीलताको विषय थिएन; त्यो नीति, मूल्य र राजनीतिक संस्कारप्रतिको सम्मान र प्रतिबद्धताको अभिव्यक्ति थियो।
प्रतिनिधिसभा सदस्यको भूमिकालाई प्रभावकारी बनाउँदै, उहाँले पार्टीभित्र जवाफदेहीता र आन्तरिक शुद्धिकरणको सन्देश दिनुभएको छ।
यसै सन्दर्भमा, २०८१ माघ १९ गते राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगर समितिकी कोषाध्यक्ष मनरुपा पौडेलले पनि “परिवारवाद निषेध” भन्ने पार्टी नीतिलाई आत्मसात गर्दै आफ्नो पदबाट राजीनामा दिनुभएको थियो।
उहाँका श्रीमान् कृष्णहरि पौडेल पार्टीको केन्द्रीय शिक्षा विभागका उपप्रमुख हुनुहुन्छ। एउटै परिवारभित्रबाट दुई जना महत्वपूर्ण जिम्मेवारीमा रहनु पार्टीको मूल्य र आचारसंहितासँग मेल नखाने ठहर गर्दै, उहाँले अत्यन्तै नैतिक, साहसिक र उदाहरणीय निर्णय लिनुभयो।
यी दुई महिलाका कदमहरूले नेपाली राजनीतिमा ‘नैतिक निर्णय’ भन्ने शब्दलाई केवल स्मरणीय मात्र नभई अभ्यासयोग्य बनाएका छन् । पदको मोहलाई छाडेर आदर्श अँगाल्न सक्ने क्षमता देखाउनु सजिलो होइन, तर जब नेतृत्व मूल्यमा अडिन्छ, त्यसले लोकतान्त्रिक संस्कार बलियो बनाउँछ।
राजनीतिमा व्यवहार नै सच्चा भाषण हो। नीति, विचार र आदर्शहरू केवल नारामा सीमित होइनन् जीवन र निर्णयमार्फत अभ्यास गरिनुपर्छ भन्ने स्पष्ट सन्देश सुमना श्रेष्ठ र मनरुपा पौडेलका कदमहरूले दिएका छन्।
यस्ता निर्णयहरूले नेपाली राजनीतिक संस्कृतिमा इमानदारी, पारदर्शिता र उत्तरदायित्वको दीप जलाउने कार्य गरेका छन् जसले आगामी पुस्तालाई पनि प्रेरणा दिनेछ।