कवि पोषराज पौडेल चितवनमा चिरपरिचित नाम हो । उहाँ नेपाली साहित्य विधामा प्रतिभावान व्यक्तित्व हुनुहुन्छ । उहाँ बुवा डिल्लीराम पौडेल र आमा धनसरा पौडेलको कोखबाट वि. स. २००१ साल भदौ ८ गते कास्की, पोखरा १९ घार्मीमा जन्मनुभएको हो । विद्यार्थी कालीन समयमा विशेषगरी उहाँ आदि कवि भानुभक्त आचार्य, महाकवि लक्ष्मी प्रसाद देवकोटा, कविवर धरणिधर कोइरालाका कविता तथा विभिन्न साहित्यिक लेखनबाट प्रभावित हुनुभयो । सानै उमेरदेखि विभिन्न दुःख संघर्ष गर्दै आज उहाँ एक सफल साहित्यिक व्यक्तित्व बन्नुभएको छ । कवि पौडेलसँग जीवनका थुप्रै विषयमा गरिएको संवाद
यहाँलाई हार्दिक स्वागत छ, पारदर्शी अनलाइन डटकममा ?
धन्यवाद अजित जि !
आराम हुनुहुन्छ ?
अँ, आराम छु ।
तपाईँकाे अक्षरारम्भ कहिले भयाे ?
म तिन बर्षदेखि आर्बा मामाघर बसेकाे हुँ। २००५ सालकाे श्रीपञ्चमीकाे दिन मलाई मेरा कान्छा मामा पं. दीनानाथ बरालले अक्षरारम्भ गराउनु भएकाे हाे। मैले ठुलाे वर्णमाला, दुर्गा कवच,चण्डी मामा घर बसेर पढेकाे हुँ।
यहाँ ८१ बर्षकाे हुनुहुन्छ, उत्तरार्धका दिनहरू आजकल कसरी बिताउदै हुनुहुन्छ ?
विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील छु । साहित्य बिधा मेरो आफ्नै रुचिको विषय हाे । जीवनकाे याे उत्तरार्धमा भन्नुपर्दा यसैमा व्यस्त रहने गर्छु । अझैपनि रचनाहरू कोर्न क्रियाशील छु । विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुन्छु । यसरी नै मेरा दिनचर्या बितेका छन् ।
तपाईं खासगरी साहित्य बिधामा कोबाट बढी प्रभावित हुनुभयो ?
अजित जी ! म साहित्य बिधाप्रति धेरै लेखक तथा कवि साहित्यकार, समालोचकहरूबाट प्रभावित भएँ । सानाे छँदागाउँघरमा रामायण,महाभारतका श्लाेक भाका हालेर गाएकाे सुन्थेँ। ती लयले मलाई तान्थे। मैले पनि भाका हालेर गाउँन काेशिष गर्थें। पछि विद्यालयमा पढ्दा खासगरी मेराे रुचि भएरपनि होला । म आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मी प्रसाद देवकोटा, धरणिधर कोइराला, कवि शिराेमणि लेखनाथ पौड्याल, सिद्दिचरण श्रेष्ठ यी सबै स्रष्टा व्यक्तित्वहरूबाट उनीहरूका छन्दाेबद्ध,लयबद्ध कविताहरू पढ्दा प्रभावित भएको थिएँ । पछि मैले चीनका प्रख्यात लेखक लुसूनलाई पढें। विशेष गरि रसियाका महान् जनताका लेखक मेक्सिम गाेर्कीका आत्म कथाहरू (१) मेराे बालककाल (२) जीवनकाे बाटाेमा र (३) मेरा बिश्वविद्यालय पढेपछि म गाेर्कीबाट बढी प्रभावित भएँ । गाेर्कीले नै रसियकाे नयाँ परिवर्तनलाई ” समाजवादीयथार्थवाद” भनेर परिभाषित गरेका थिए । एक पटक एकजना पत्रकारले ” तपाईं कस्काे लागि लेख्नुहुन्छ ?” भनेर प्रश्न राख्दा गाेर्किले ” म थङ्थिलाे भएका जीवनका बारेमा लेख्छु” भनेका थिए । गाेर्की विश्वका दुःखी,श्रमजीवी वर्गका गुरु र साथी हुन् । टल्स्टय, चेखव, प्रेमचंद, पारिजात, कृष्णसेन इच्छुक लगायतका साहित्यकारहरूलाई पनि धेरथाेर पढें।
यहाँले कति सालमा एसएलसी उत्तीर्ण गर्नुभयो ?
मैले वि.स. २०२३ सालमा पाेखरा उपकेन्द्र रहेकाे नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका उत्तीर्ण गरेको हुँ । त्यसपछि मेराे कलेज पढ्ने धाेकाे थियाे । परिस्थितिले मेराेधाेकाे पुराहुन पाएन।
यहाँ शिक्षण पेशामा कहिलेदेखि आबद्ध हुनुभयो ?
मैले गाउँकै भुमेश्वर प्राविमा वि.स. २०२३ सालबाट पढाउन सुरु गरें । पछि जिल्ला शिक्षा कार्यालयले त्यही विद्यालय संचालक समितिले दिएकाे नियुक्तिलाई नै स्थायी मान्याे। २०२८ सालमा मैले नर्मल तालिम लिएँ । जिल्ला शिक्षा कार्यालय कास्कीले मलाई २०२९ सालमा राजाको चौतारा ब्रहमरुपा निमाविमा नियुक्त गर्याे। ०२९ सालदेखि ०३२ सालसम्म मैले त्यस विद्यालयमा पढाएँ । त्यहाँबाट सरुवा भएर गाउँकै विद्यालय भुमेश्वर प्राविमा गएँ । हाम्राे चितवन,माडी अयाेध्यापुरीकाे जगन्नाथपुरमा जग्गा थियाे। परिवार त्यहीँ थिए। त्यसै कारण म कास्कीबाट वि.स. २०३५ सालमा चितवन सरुवा भएर माडीको रामराज्य पुरमा रहेको स्कुलमा करिब ५ महिना पढाएँ । त्यसपछि साबिक अयोध्यापुरी ३ को जगन्नाथपुरी राप्राविमा २० बर्ष पढाएँ । अहिले त्यो माडी ७ मा पर्छ । ३२ बर्ष पढाए पढाएपछि २०५५ सालबाट मैले शिक्षण पेशाबाट स्वैक्षिक अवकाश लिएँ ।
सुरुमा यहाँ जागीर अथवा पढाईको शिलसिलामा कहाँ जानुभयो ?
म १३ बर्षकाे छँदा बा भारतकाे बनारसमा जागिरे हुनुहुन्थ्याे। मलाई संस्कृत पढाउन बाले बनारस लिएर जानुभयाे। बाकाे मलाई संस्कृतकाे विद्वान बनाउने इच्छा थियाे । वनारस, बुलानालाकाे गाेयनका महाविद्यालयमा संस्कृत पढ्न भर्ना भएँ र पढ्न शुरू गरें। दुर्भाग्य भनौँ बाकाे सपना पुराहुन सकेन। याे समयकाे खेल हाेला। म त्यहाँकाे एउटा घटनाबाट डराएर नपढी घर फर्कें र गाउँकै भूमेश्वर प्राविमा कक्षा २ मा पढ्न थालें।पछि आठ नौ कक्षा पढ्दा पढाइमा व्यवधान भएपछि पढाइ छाडेर भारततिर लागें। मैले १५/१६ बर्षतिर जागीरका लागि भारतकाे वनारसमा गएर चौकीदारी गरें । भारतमा चौकीदार भएर एक डेढ बर्ष रोजगारीकोलागि बसें । मैेले भारतकाे आसाममा गएर पनिनाेकरी गरें।
तपाईकाे औपचारिक शिक्षा त प्रवेशिका मात्रै रहेछ । केही स्वअध्यन पनि गर्नु भयाे कि ?
हाे अजित जी, मैले धेरथाेर स्वअध्यन पनि गरें। मलाई छन्दाेबद्ध कवितामा रुची भएकाेले छन्द विज्ञानका केही नियम, जर्जलुकासका साहित्यिक सिद्धान्त, द्वन्द्वात्मक भौतिकवाद ऐतिहासिक भौतिकवाद,केही साहित्यिक कृतिहरू,हिमाली क्षेत्रमा विकसित दर्शनहरू, उपनिषद् ,र गीताकाे पनि सूक्ष्म अध्यन गरें। महात्मा गान्धीकाे आत्मकथा,मार्क्सकाे जीवनी,लेनिनकाे जीवनी, हाेचिमिनकाे जीवनी,किमइलसुङ्काे जीवनी,नेल्शनमण्डेलाकाे आत्मकथा आदि कृतिहरू पढें अध्यनले नै सत्य निरूपणगर्न मानिसलाई सगाउ पुर्याउँछ भन्ने मेराे धारणा छ । तर त्याे अध्ययन एकपक्षीय हुनु हुँदैन।
तपाईं राजनीतिमा कहिले प्रवेश गर्नुभयो ?
म राजनीतिमा वि.स. २०३६ सालदेखि प्रबेश गरें । त्यतिबेला निरङ्कुश पञ्चायति व्यबस्था थियाे। राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए। म नेकपा (मशाल) काे किसान सङ्गठन अखिल नेपाल किसान सङ्घमा प्रबेश गरें। नेकपा (माओवादी) काे सदस्यता मैले २०४२ सालमा लिएकाे हुँ। २०३६/३७ सालदेखि दिनमा पढाउने रातिराति पार्टीका सङ्गठन बनाउँने गरियाे।त्यतिबेलाका मेरा सहयात्री निलकण्ठ काफ्ले, प्रेम सुवेदी,घनश्याम सुवेदी,हरि भुजेल लगायतका अन्य साथीहरू पनि थिए । घनश्याम दाहाल विद्यार्थी राजनीतिमा थिए। घननाथ सापकाेटा,यमवहदुर परियारपनि यसै आन्दाेलनमा थिए। हामी पार्टी सङ्गठन गर्न पूर्व ठाेरी, बाँदरझुला,प्याउली पश्चिम कल्याणपुर, बघौडा, शीतलपुर, खैरहनी, बरुवा र जगतपुरसम्म पुग्थ्यौँ। जनतालाई चेतनशील बनाउन नाटकपनि देखाइयाे। पञ्चहरूले हाम्राे खेदाे गर्थे। थानामा चुक्ली लगाएर एक पटक वसन्तपुर थानामा मलाई र निलकण्ठ काफ्लेलाई थुन्याे। अर्काे पटक मलाई जिल्लामा पुर्याए। जिप्रकाले ७ दिन थुनेर छाड्याे। वि.स. २०५५ सालमा स्वेच्छिक अबकाश लिएपछि राजनीति क्षेत्रमा बढी कृयाशील भएको हुँ । मेराे दिमागमा अझै पनि ती घटनाहरू ताजा छन्। मैले जागिर छाडेपछि पार्टीका बैधानिक सङ्गठनहरूका कार्यक्रमहरूमा म क्रान्तिकारी कविता गाउँदै हिँड्थें। नेताहरू भूमिगत थिए। २०५८ सालमा मलाई सुरक्षा फौजले घरैबाट आतङ्ककारीकाे झुट्टा अभियोगमा समात्यो । त्यतिखेर नेकपा (माओवादी) ले जनयुद्ध संचालन गरेकाे छ बर्ष भएकाे थियो । मेरा सबै कृतिहरू प्रशासनले जफत गर्याे। २०६३ सालदेखि ७० सालसम्म पार्टीको पूर्वकालीन कार्यकर्ता भएर काम गरें । चितवन जिल्लाको जिल्ला सदस्य भएर भरतपुर १२ को इन्चार्जको रूपमा समेत काम गर्ने अबसर मिल्यो । वि.स. २०४७ सालमा जनादेश पत्रिकाका पत्रकार कृष्णसेन इच्छुकको उपस्थितिमा अखिल नेपाल जनसांस्कृतिक महासंघ चितवन गठन भयो । त्यसको पहिलो संयोजक भएर काम गरें । कृष्णसेन इच्छुक अखिल नेपाल जनसांस्कृतिक महासंघको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । पछि म केन्द्रीय सदस्य भएरपनि काम गरें । त्यसपछि प्रलेसको केन्द्रीय सदस्य भएँ । चितवनमा महान् सहिद शारदा श्रेष्ठको स्मृतिमा शारदा स्मृति प्रतिष्ठान गठन गरी त्यसकाे अध्यक्ष भएर काम गरें। शारदा स्मृति अक्षय कोष स्थापना गरियो । जनस्तरबाट चन्दा उठाएर रु. ५ लाखको कोष तत्कालीन समयमा स्थापना गरिएको थियो । त्यसको व्याजबाट प्रगतिशील प्रगतिबादी कलाकारहरुलाई पुरस्कृत गर्ने व्यवस्था गरियो । ३६ सालदेखि हालसम्म नेकपा माओवादी पार्टीमा आस्था राख्दै आएको छु ।
जनताकाे बलले देशमा गणतन्त्र आयाे। अहिलकाे परिवर्तनलाई कसरी लिनुहुन्छ ?
याे गणतन्त्रबाट जनताका सीमित अधिकार प्राप्त त भएका छन् । तर पूर्ण अधिकार प्राप्त भएका छैनन्। अबपूर्ण अधिकार प्राप्त गर्न यसैकाे जगमा टेकेर जनताले अझैसङ्घर्ष गर्नु पर्छ ।
अब साहित्य बिधामा प्रवेश गरौं, साहित्य भन्नाले के बुझिन्छ ? र यहाँका हालसम्म कतिवटा कृति प्रकाशित भएका छन् ?
साहित्य भनेकाे सत्य,शिव,सुन्दर अथवा कल्याण हाे। मुख्यत समाजमा हुने खाने र भए खाने दुईटा वर्ग हुन्छन्। त्यसै गरि हरेक कुरा वर्गीय भएझैँ साहित्यपनि वर्गीय हुन्छ। शाेषक वर्गकाे हित गर्ने साहित्य स्तुतिवादी साहित्य हाे । भने शाेषित, पीडित, उत्पीडित, श्रमजीवी, किसान, मजदुर, निम्न वैतनिक कर्मचारी आदिकाे हित गर्ने साहित्यलाई जनवादी साहित्य भनिन्छ । जनवादी साहित्यले जनतालाई चेतनशील बनाउने र पुरानाे सडेगलेकाे समाजलाई फेरेर जनतालाई सुखी, सम्पन्नशाली बनाउने वैचारिक क्रान्तिलाई सहयाेग गर्ने र मार्ग निर्देश गर्नेमा जनवादी साहित्यकाे महत्वपूर्ण भूमिका हुन्छ। मेरा साहित्यिक कृतिहरू त्यही दिशातिर परिदक्षित छन्। हालसम्म मेरा १३ वटा कृतिहरू प्रकाशित भएका छन् । साहित्यिक कृतिहरूमा (१) माडी यात्रा खण्डकाव्य-२०३९ प्रकाशक आफैं (२) मेक्सिम गाेर्की कवितात्मक जीवनी २०४३ प्रकाशक- चितवनका प्रगतिशील युवाहरू (३) आमा स्मृतिका छालमा-शाेककाव्य २०४४ प्रकाशक चितवन प्रकाशन (४)पागल प्रलप काव्य-२०५५ प्रकाशक- आफैं (५)सहिद गाथा महाकाव्य-२०५७ प्रकाशक-भाइ भीमराज पौडेल (६) आदर्श काेकिल- खण्डकाव्य ३०६५ प्रकाशक- छाेरीहरू (७) अग्निगर्भका आवाजहरू-कवितासङ्ग्रह-२०६९९ प्रकाशक-अखिल नेपाल लेखक सङ्घ,चितवन (८)अतीतका पानाहरू-आत्मकथा-२०७१ प्रकाशक- गण्डकी साहित्य सङ्गम,पाेखरा (९) स्वप्न विम्ब-काव्य २०७४ प्रकाशक- गण्डकी साहित्य सङ्गम,पाेखरा (१०)जन्मदाता- स्मृति काव्य-२०७८ प्रकाशक- आफैं (११) शुक्लागण्डकी-महाकाव्य २०७८ प्रकाशक- साहित्य सङ्गम,चितवन (१२)खाेरिया- गितीकाव्य-२०७९ प्रकाशक- हाम्राे सिर्जना साहित्यिक पत्रिका (१३) राताे क्षितिज-उपन्यास-२०८१ प्रकाशक- साहित्य सङ्गम,चितवनप्र-सम्मान तथा पुरस्कारहरू के के पाउनुभयाे?उ- मलाई धेरै साहित्यिक सङ्घ,संस्थाहरूले पुरस्कृत र सम्मानित गरेका छन्। ती निम्न छन्।(१)विन्ध्यबासिनी रात्रि पाठशालामा निबन्ध प्रतियाेगितामा द्वितीय पुरस्कार-कपी२०१८ (२) अनेरास्ववियुकाे कविता प्रतियाेगितामा प्रथम पुरस्कार २०४६, (३)११६ औं लेखनाथ जयन्तीमा नारायणी कलामन्दिरमा भएकाे छन्दाेबद्ध कविता प्रतियाेगितामा प्रथम (४)मदनमाेहन स्मृति पुरस्कार-२०६६ (५) सहिद शारदा स्मृति पुरस्कार-२०७० (६) गण्डकी वाङ्मय पुरस्कार-२०७२ (७) प्रगतिशील लेखक सङ्घ नेपाल प्रतिभा पुरस्कार-२०७२ (८) लेखनाथ जयन्ती अर्घुँ,अर्चलेमा प्रतियाेगितात्मक कवि गाेष्ठीमा द्वितीय पुरस्कार २०७७ (९) जनसांस्कृतिक राष्ट्रिय पुरस्कार-२०७६(१०) पं नीलकण्ठ स्मृति राष्ट्रिय पुरस्कार २०७९(११) नेपाल सरकार,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयन्त्रालय बाट आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार २०७९(१२) ज्याग्दीखाेला साहित्य-कला पुरस्कार२०७० आदि रहेका छन्।(१३) विभिन्न सङ्संस्थाहरूबाट लर्जनौँ सम्मान पत्र , कदर पत्र र मायाकाे चिनाे प्राप्त भएका छन्। (१४) विभिन्न साहित्यिक पत्र पत्रिकामा २०३६ देखि आजसम्मका कविता, गीत, गजल, मुक्तक, हाइकु, लेख, निबन्ध,कथा आदि प्रकाशित भएका छन्। ती सबै प्रकाशित गर्ने हाे, भने तीन, चारवटा कृति तयार हुन सक्छन्। मैले मेरा जन्मदाताका स्मृतिमा चितवन साहित्य सङ्गमले प्रगतिशील/प्रगतिवादी स्रष्टाहरूलाई पुरस्कृत गर्ने गरी रू. दुई लाखकाे अक्षय काेषपनि स्थापना गरेकाे छु ।
तपाईलाई मन पर्ने स्वदेशी तथा विदेशी साहित्यकारहरूको नाम लिनुपर्दा क-कसलाई सम्झनुहुन्छ ?
कवि, साहित्यकारहरूलाई देशकाे सीमाले छेक्दैन जस्ताे लाग्छ मलाई। “विद्वान् सर्वत्र सम्मानित् हुन्छ” पनि भनिएकाे छ । तैपनि देशकाे सीमाले छुट्याएकै छ। नेपालका कवि साहित्यकारहरूमा मलाई मन पर्ने धेरै छन्। ती मध्ये एक/दुई जनाकाे नाम लिनु पर्दा म पारिजात र कृष्णसेन इच्छुककाे नाम लिन्छु। विदेशी लेखकहरूमा म रुसका महान् लेेखक मेक्सिम गाेर्की,चीनका विश्वप्रसिद्ध लेखक लूसुन,भारतका प्रेमचंदकाे नाम श्रद्धाले लिन्छु।
तपाईलाई मनपर्ने दार्शनिक ?
मलाई मनपर्ने दार्शनिकहरूमा,मार्क्स,गौतम बुद्ध र माेहन वैद्य हुन्।
जीवन के हाे भन्ने ठान्नुहुन्छ ? कस्ताे जीवन उत्तम हाे ?
अजित जि, याे महत्वपूर्ण प्रश्नकाेलागि धन्यवाद !जीवन एक सङ्घर्ष हाे। मैले जीवनलाई प्रकृतिकाे उपहार हाे भन्ने ठान्दछु। जीवन एक अवसरपनि हाे। जीवनलाई नदीसँगपनि तुलना गर्न सकिन्छ। जीवन त एकै बारकाे हाे। एक बारकाे जीवनमा हामीले पुरुषार्थ गर्नुपर्छ। मानव जुनीमा मानवकाे कर्तव्य मानव जातिकाे सेवा गर्नु हाे । जस्ताे लाग्छ।”सादा जीवन,उच्च विचार” भनिएकाेपनि छ। मलाईपनि सादा जीवन र मीतव्ययिता नै मन पर्छ। सादा जीवन बाँच्न सजिलाे हुन्छ। जब मानवकाे जीवन भड्किलाे हुन्छ, उसलेआफ्नाे कर्तव्य बिर्सन्छ । उत्तम विचार त आफ्नाे असलकर्मद्वारा आफैँले निर्माण गर्ने हाे ।
अहिलेकाे समाजलाई कसरी हेर्नुभएकाे छ ?
याे अति महत्वपूर्ण प्रश्न हाे। अहिले हाम्राे समाज पश्चिमा छाडा संस्कृति र उपभाेक्तावादमा फसेकाे छ । यतिवेला “खाऊ, पिय, माेजगर” काे दलदलमा समाज फसेकाे छ। नेताहरूका जीवन शैली भड्किला बनेका छन्।”यथा राजा तथा प्रजा” भनेझैँ अहिले राजा नभए पनिनेताहरूका जीवन राजाहरूका भन्दा बढी ऐयासी भएका छन्। देश डुब्ने बेलाकाे घामझैँ भएकाे छ । युव, युवती विदेश पलायन हुँदैछन्। समाज विछ्रिङ्खलतातिर गइरहेकाे छ। याे देशकाे लागि अति दुर्भाग्य हाे ।
तपाईंको विवाह कहिले र कहाँ भएकाे हाे र परिवारमा काे काे हुनुहुन्छ ?
मेराे विवाह २०२४ साल माघ १२ गते २४ बर्षमा स्याङ्जा,फेदीखाेला, कडुजे स्वाँराका जनकलाल पराजुली र नन्दकला पराजुलीका चार छाेरी मध्ये जेठी छाेरी १५ बर्षीया यसाेदा पराजुलीसँग भएकाे हाे । हामी वैवाहीक जीवनमा बाँधिएकाे पनि ५७ बर्ष बितिसकेछन् । हाम्रा बाका पाँच सन्तानहरूमा म जेठाे छाेरा पाेषराज पौडेल माइलाे यमनाथ पौडेल र कान्छाे भीमराज पौडेल हौँ । बहिनीहरू क्रमश दुर्गा,पार्वती र सरस्वती हुन्। मेेरा सन्तानहरूमा जेठाे छाेरा सुदर्शन कान्छाे दर्शन हुन् । छाेरीहरू क्रमश शारदा, सरला र शाेभा हन् । बुहारीहरूमा क्रमश शारदा र सवि हुन् । मेरा नातिहरूमा क्रमश सुशान्त, सद्भाव, विषद्, आशिष, आशिक र नातिनीहरू क्रमश सुशना, सदीक्षा, अर्चना र वन्दना हुन् । एक नातिनी बुहरी दीपा र मेरा तीन पनाति पनि जन्मेका छन् ।
अन्त्यमा केही भन्नैपर्ने कुरा छुटे जस्ताे लागेकाे छ कि ?
अजित जि ! सर्वप्रथम म तपाईँलाई भुरीभुरी धन्यवाद दिन्छु। मेरा जीवनका सम्पूर्ण पक्षलाई उजागर हुने गरी प्रश्नहरू राख्नु भयाे। मैले यस अन्तर्वार्तालाई मेराे जीवनकाे महत्वपूर्ण क्षण सम्झेकाे छु। म पारदर्शी अनलाइन डटकमलाई धेरै धन्यवाद दिन्छु ।
हाम्रो प्रश्नमा आफ्नो बिचार राखिदिनुभएकोमा यहाँलाई धेरैधेरै धन्यवाद !
हस् यहाँलाईपनि धन्यवाद ! मलाई आफ्ना जीवनका थुप्रै भोगाइ अनि अनुभव शेयर गर्ने अबसर दिनुभएकोमा यहाँलाई फेरिपनि धन्यवाद !